वैशाख ४, २०७९ काठमाडौँ — लेखक नयनराज पाण्डेको लोकप्रिय उपन्यास ‘उलार’माथि बनेको नाटक वैशाख ६ गतेबाट मञ्चन हुँदैछ । रंगकर्मी चे शंकरको परिकल्पना तथा निर्देशनमा मञ्चन हुने नाटक टेकुस्थित कौसी थिएटरमा मञ्चन हुने भएको हो ।
गार्डेन थिएटरले कथा घेरासँगको सहकार्यमा मञ्चन गर्न लागेको यस नाटकमा कलाकारहरु सरिता गिरी, सबिर चरौटे, अरुण शर्मा, सञ्जय गुप्ता, शेखर चापागाईंलगायतको प्रमुख अभिनय छ । यसअघि चे शंकरले ‘सेम टाइम नेक्स्ट इयर’, ‘लुक ब्याक इन एंगर’, ‘तिर्खा’, ‘ऊ मरेकी छैन’, ‘कोही किन बर्बाद होस्’, ‘मिस्टर फक्स एन्ड स्कुल ब्वाइ’ लगायतको नाटक निर्देशन गरिसकेका छन् ।
२५ वर्षअघि प्रकाशित ‘उलार’ नेपालगञ्जको परिवेशमा बुनिएको सीमान्त तहका जनताको संघर्षको कथा हो । लेखक पाण्डेको महत्त्वपूर्ण कृतिका रुपमा पढिएको उपन्यासको कथा र यसले उठाएका मुद्दा वर्तमान नेपाली समाजमा सान्दर्भिक रहेकाले नाटकमा रुपान्तरण गरिएको निर्देशक चे शंकरको भनाइ छ । एक महिना बढी रिहर्सलमा बिताएको यो नाटक वैशाख ६ गतेदेखि १८ सम्म मञ्चन हुँदैछ ।
Comments are closed.