काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आज सुरु हुँदै छ । संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक अपराह्न ४ बजे बोलाइएको छ ।
संसद् सचिवालयले दुवै बैठकका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको जनाएको छ । सचिवालयले यस पटकदेखि कानुन निर्माणलाई प्रभावकारी र चुस्त बनाउन पाक्षिक रूपमा क्यालेन्डर बनाएर अधिवेशन सञ्चालन गर्ने तयारी गरेको छ ।
हरेक १५-१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन हुनेछ । सचिवालयले प्रतिनिधिसभाको आजको बैठकका लागि राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ टेबुल गर्ने कार्यसूची तय गरेको छ ।
यस्तै, अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व -पहिलो संशोधन) २०८० पेस गर्ने तालिका छ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश पेस गर्ने कार्यसूची छ ।
यसैबीच, सभामुख देवराज घिमिरेले राज्यलाई आवश्यक परेका धेरैभन्दा धेरै विधेयक पारित गरी कार्यान्वयन गर्न जरुरी रहेको बताएका छन् । उनले हिउँदे अधिवेशनलाई प्रभावकारी तुल्याउन नयाँ कार्यतालिका बनाएर काम गर्ने अठोट गरिएको उल्लेख गरे । सभामुख घिमिरेले प्रि-बजेटका प्राथमिकता र सिद्धान्तमाथि पहिले छलफल गर्ने र त्यसमा आएका सुझावका आधारमा सदनमा बजेट प्रस्तुत गरिनेसमेत बताए ।
Comments are closed.