सरकार चलाउन संयन्त्र र साझा कार्यक्रम चाहिन्छ: गिरिराजमणि पोखरेल

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र र साझा कार्यक्रम बनाउनुपर्ने बताएका छन्।

उनले वर्तमान सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र बनाउनुपर्ने धारणा व्यक्त गरेका हुन्। उनले गठबन्धन सरकार भएको हुनाले न्यूनतम साझा कार्यक्रम पनि आवश्यक रहेको बताए।

उनले सरकार सञ्चालनका लागि आचारसंहिता पनि चाहिने बताए। उपमहासचिव पोखरेलले कस्ता व्यक्तिलाई मन्त्री बनाउने भन्ने विषयमा पनि छलफल आवश्यक रहेको बताए। उनले भ्रष्टाचारबाट मुक्त रहेकाहरुलाई मन्त्री बनाउनुपर्नेमा जोड दिए।

उनले बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै शान्ति प्रक्रियाका काम अगाडि बढाउने, सुशासन, सेवा प्रवाह र प्रणाली निर्माण गर्नुपर्ने मुख्य कार्यभार सरकारको रहेको भन्दै सोही अनुरुपको जिम्मेवारी निर्वाह गर्न सक्नेलाई सरकारमा लानुपर्ने बताए।

‘प्रधानमन्त्रीज्यूले चैत्र १० सम्ममा सरकार बन्छ भनेर भन्नुभएको छ। विश्वासको मत लिइसकेपछि सबै पार्टीका आफ्ना आफ्ना अपेक्षा छन्। यो संसदलाई ५ वर्ष चलाउने, देशले स्थायित्व र स्थिरता खोजेको छ। शान्ति प्रक्रियाका काम अगाडि बढाउने, जनतालाई साँच्चै परिवर्तनको अनुभूति दिलाउने, सुशासन, सेवा प्रवाह र प्रणाली निर्माण गर्ने एकदम महत्वपूर्ण जिम्मेवारी छन्‚’ उपमहासचिव पोखरेलले भने‚ ‘त्यसकारण अहिले मन्त्रालय बाँडफाँटका कुरा मात्रै होइन कस्ता मन्त्री आउने भन्ने छलफल गर्नुपर्छ। अर्को पनि प्रश्न उठेको छ कि मन्त्रीहरु मात्रै बनाउने होइन मन्त्रीहरुले लागू गर्ने न्यूनतम साझा कार्यक्रम पनि बनाउनुपर्‍यो। त्यसपछि सरकार चलाउन संयन्त्र पनि चाहियो‚ आचारसंहिता पनि चाहियो। त्यसकारण मन्त्रीमा मात्रै ध्यान नदिउँ‚ यो गठबन्धनले वा सरकारले भन्ने कुराको खाका पनि तयार गर्नुपर्‍यो। गठबन्धन भइसकेपछि सामान्यतः गठबन्धनको आफ्ना साझा कार्यक्रम हुन्छ। साझा आचारसंहिता चाहिन्छ।’

उनले नयाँ मन्त्रिपरिषद् गठन हुँदा माओवादी केन्द्रबाट मन्त्री भएकाहरुलाई फिर्ता नबोलाइने बताए। उनले मन्त्रीहरुले विगतमा राम्रो सँग काम गर्न नपाएका भन्दै मन्त्रीहरु नबदलिने स्पष्ट पारे। दलहरुबीच सहमति भए माओवादीबाट अन्य मन्त्री पनि थप हुनसक्ने उनले बताए।

उनले भने‚ ‘राजनीतिक दलहरुबीचमा सहमति हुँदा अरु साथीहरु पनि मन्त्रालयको जिम्मेवारीमा जानुहुन्छ। अहिले त साथीहरुले काम नै गर्न पाउनु भएको छैन नि। अगाडिको गठबन्धन बन्नेबित्तिकै संकट आयो त्यसमा। मन्त्रीहरु अहिले बदलिने कुरा हुँदैन। मन्त्रीहरुले समयमा काम अगाडि बढाउनुपर्छ। जनताको आवश्यकतालाई ध्यान दिएर, पार्टीका घोषणापत्रलाई ध्यान दिएर, गठबन्धनका साझा सहमतिलाई ध्यान दिएर उहाँहरु अगाडि बढ्नुपर्छ।’

उपमहासचिव पोखरेलले वर्तमान सत्तारुढ गठबन्धन बाध्यता र आवश्यकताले बनेको उल्लेख गर्दै यो गठबन्धन ५ वर्ष नै जाने बताए।

उनले भने‚ ‘यतिबेला राष्ट्रका लागि वाम लोकतान्त्रिक गठबन्धन बाध्यता पनि हो र आवश्यकता पनि हो‚ यो ५ वर्ष नै जान्छ। शक्ति सन्तुलन भएको छ। जब काँग्रेसले गल्ती गर्‍यो‚ रामचन्द्र पौडेलजीले नै कांग्रेसले गल्ती गर्‍यो भन्नुभएको व्यक्ति नै अहिले राष्ट्रपति हुनुभएको छ। अरु पार्टीहरु सबैको नै हाम्रा संघर्ष पनि छन् एक अर्कासँग, हाम्रा एकता पनि छन्‚’ उनले भने‚ ‘मलाई के लाग्छ भने अब जनताले पनि निगरानी गर्नुपर्छ। दलहरुले पनि निगरानी गर्नुपर्छ तर मिलेर काम गर्नुपर्छ। देशको अर्थतन्त्र यस्तो अवस्थामा छ, अहिले बीचमा चुनावको कुरा सोच्नु हुँदैन। यो कोणबाट अहिलेका दलहरुले मिलेर ५ वर्ष चलाउनुपर्ने अहिलेको आवश्यकता छ भन्ने कुरालाई ध्यान दिएका छन्।’

उनले सत्तारुढ दलहरु एउटै डुंगामा बसेर जानुको विकल्प नभएको बताए।

Comments are closed.