इटहरी गोल्डकप: स्टेफेन र मेसुकेको खेलले सगरमाथा फाइनलमा

इलाम : अफ्रिकी खेलाडी स्टेफेन समिर र मेसुके ओलमाउ प्रेरित खेलमा जित निकाल्दै डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लब इटहरी गोल्डकपको फाइनल प्रवेश गरेको छ।

इटहरी रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा सगरमाथाले उपाधि दाबेदार मछिन्द्र क्लबलाई ३—१ गोल अन्तरले हराएको हो। जितसंगै सगरमाथाले कम्तिमा ५ लाख रूपैयाँ सुरक्षित गरेको छ।

सगरमाथाको जितमा राजिव लोप्चन, स्टेफेन र मेसुकेले गोल गरे। खेलको सुरुवातबाटै दबाब बनाएको सगरमाथाले चौथो मिनेटमा अग्रता बनायो। मेसुकेको असिस्टमा राजिव लोप्चनले सुरुवात अग्रता दिलाए।

१२ औ मिनेटमा स्टेफेनले अग्रता दोब्बर बनाए। ५१ औं मिनेटमा मेसुकेले बायाँ भागबाट गोल गर्दै बढाउँदै अग्रता ३—० बनाए। ४३ औं मिनेटमा मछिन्द्रका कप्तान अफिज ओलावालेले अग्रता कम पारे।

डिबक्सभित्र अभिषेक लिम्बुले ओलावालेलाई फाउल गरेपछि पाएको पेनाल्टीको अवसर गोलमा परिणत बन्यो। सुरुवाती १५ मिनेटमा २ गोलले पछि परेपछि मछिन्द्रका खेलाडीहरुले पाएको मुभलाई समेत सदुपयोग गर्न सकेनन्। पहिलो हाफमा ओलावालेले पाएको ३ वटा अवसर सदुपयोग भएन।

मछिन्द्रले पाएका केही वान भर्सेस वानको अवसरमा समेत सगरमाथाका गोलरक्षक देव लिम्बु बाधक बने। पहिलो मिनेटमा नै गोलरक्षक देवले शक्तिशाली प्रहार पञ्च गर्दै क्लियर गरिदिए। १५ औं मिनेटमा वान भर्सेस वानको अवस्थामा विजय भुजेलले गोलरक्षकलाई बिट गरे पनि गोल गर्न सकेनन्।

१९ औं मिनेटमा ओलावालेको प्रहार गोलरक्षक लिम्बुले ब्लक गरिदिए। २२ औं मिनेटमा ओलावालेको प्रहार पोष्ट माथिबाट बाहिरियो। ३१ औं मिनेटमा वान भर्सेस वानमा ओलावाले चुके।

पहिलो हाफको तुलनामा दोश्रो हाफमा मछिन्द्रले आक्रमण बुन्न सकेन। ६४ औं मिनेटमा गोलरक्षक बिट भइसकेको अवस्थामा प्रशान्त अवस्थीको हेडर बाहिरियो। दोश्रो हाफको इन्जुरी समयमा शौरभ लिम्बुको फ्रिकिक प्रहारमा उत्सव राईको हेडर पोष्टमाथिबाट बाहिरियो। इन्जुरी समयमा शौरभ लिम्बुले वान भर्सेस वानको अवस्थामा पाएको अवसरमा गोल गर्न सकेनन्।

सगरमाथाले समेत अग्रता अझ फराकिलो बनाउने अवसर गुमाउन पुग्यो। २३ औं मिनेटमा स्टेफेनको शक्तिशाली प्रहार गोलरक्षक प्रदिप भण्डारीले बचाए। २५ औं मिनेटमा डिफेन्डरबीच तालमेल नमिल्दा पाएको अवसरमा मेसुकेको प्रहार क्लियर हुन पुग्यो।

५३ औं मिनेटमा मेसुकेको क्रसमा राजिव लोप्चन गोल गर्न चुके। लगत्तै मेसुकेले वान भर्सेस वानमा पाएको अवसरलाई फितलो प्रहार गरे।

खेलको म्यान अफ दि म्याच सगरमाथाका स्टेफेन घोषित हुँदै नगद १० हजार प्राप्त गरे।

खेलपछि प्रतिक्रिया दिँदै सगरमाथाका प्रशिक्षक याम गुरुङले जित निकाले पनि सोचेअनुरुप प्रदर्शन नभएको बताए। उनले अफ्रिकी खेलाडीको कारण जितेको अस्विकार गर्दै टिमअपले जितेको बताए।

गुरुङले विपक्षी खेलाडीहरु अफ्रिकी खेलाडीका कारण दबाबमा परे पनि खेलाडीबीच तालमेल राम्रो भएको बताए। उनले फाइनल खेलमा विपक्षी हेरेर टिमको रणनीति तयार गरिने बताए।

यता पराजित टोली मछिन्द्रका पहिलो हाफमा पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्दा पराजित भएको बताए। उनले रेफ्रीको गल्तीका कारण दोश्रो गोल हुन पुगेको आरोप लगाए।

उनले अफ्रिकी खेलाडीहरुको कारणभन्दा पनि पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्नु नै पराजयको कारण भएको बताए। उनले पहिलो रोजाईका खेलाडीहरुलाई आराम दिएर दोश्रो रोजाईका बेञ्चका खेलाडीहरुलाई अनुभवका लागि मैदान उतारेको बताए।

प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलमा चर्च व्वाइज युनाइटेड र गत संस्करणको उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। यही चैत ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रूपैयाँ प्राप्त गर्नेछ।

Comments are closed.