सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा मनाइने विभिन्न चाडपर्वले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता प्रवर्धन गर्ने बताउनुभएको छ ।

मंगलबारदेखि सुरु भएको रमजान रोजा पर्वको अवसरमा इस्लाम धर्मावलम्बी लगायतलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले यस्ता पर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने उल्लेख गर्नुभएको छ । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक रूपले विविधतायुक्त राष्ट्र भएकाले यस्ता चाडपर्व, धर्म र संस्कारले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता प्रवर्धन गर्दै राष्ट्रिय एकता र राष्ट्र हितलाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्’, प्रधानमन्त्रीले दिनुभएको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्रीले वर्तमान सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमान रक्षमा सदैव प्रतिबद्ध रहेको पनि बताउनुभएको छ । ‘वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य साकार पार्न र मौलिक पहिचानको संरक्षणमार्फत आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सदैव प्रतिबद्ध छ’, सन्देशमा लेखिएको छ ।

एक महिनासम्म मनाइने रमजान पर्वमा महिनाभरिमा इस्लाम धर्मावलम्बीहरू सूर्यको उदय र अस्तको बिचमा निराहार व्रत बसी आत्म सन्तुलन, आत्मविश्वास तथा मानवीय तृष्णालाई सीमित गरेर भक्तिभावतर्फ केन्द्रित हुने गर्दछन् । रमजान पर्व व्रत अर्थात् रोजामात्र नभई मानवता, सहयोगी भावना र सद्भाव जस्ता पवित्रताका अभ्यासहरूको संयोजन पनि भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।

रमजानमा महिनाभर दान दिने, गरिब र असहायलाई सेवा गर्ने समेत गरिन्छ । यस पर्वले मानिसलाई सत् मार्गमा डोर्‍याउन , विनम्र, संयम, सहनशील, परोपकारी, दयालु र सदाचारी बनाउन प्रेरितसमेत गर्दै आएको छ ।

Comments are closed.