सरकार स्टन्टबाजी गर्ने ठाउँ होइन:रमेशजंग रायमाझी

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका संसदीय दलका नेता रमेशजंग रायमाझीले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।सोमबारबाट सुरु संसद्‌को हिउँदे अधिवेशनका क्रममा राष्ट्रिय सभाको बैठकमा आफ्ना धारणा राख्दै उनले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाएका हुन् । उनले अहिले सरकारले स्टन्टबाजी गरिरहेको भन्दै स्टन्टबाजी गर्ने बेला नभएको धारणा राखे ।
उनले सरकारमा बसेका मन्त्रीहरुले नयाँ राजनीतिक दलहरुको नक्कल गरिरहेको दाबी पनि गरे । सरकारमा बस्ने मानिसहरुले काम गर्नुपर्ने भए पनि स्टन्टबाजी गरिरहेको भन्दै आपत्ति जनाए । नेता रायमाझीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्टन्टबाजी गर्ने काम गरेको आरोप लगाए । सरकार नौटंकी गर्ने ठाउँ नभएको उनको भनाइ थियो ।
‘यो स्टन्ट गर्ने बेला होइन । हामी स्टन्ट गरिरहेका छौं । नयाँ आएका राजनीतिक पार्टीको नक्कल गरिरहेका छौं । केही नयाँ राजनीतिक पार्टीहरु आएका छन्, जन्मेका छन् । तिनले गरेका कुराहरु । सरकारमा बस्ने मानिसहरुले त काम गर्ने हो । नाटक गर्ने होइन । नौटंकी गर्ने होइन । नौटंकी बढी भयो जस्तो लाग्छ । स्वास्थ्य मन्त्रालयको कुरा त्यस्तै आउँछ । आजकाल गृहमन्त्रीज्यूको पनि कुरा अलिअलि त्यस्तै आउन थालिसक्यो,’ उनले भने, ‘गृहमन्त्रीज्यूको यही रोस्टममा प्रशंसा गरेको थिएँ । तर कामभन्दा आजकाल चर्चा, परिचर्चा बटुल्न लागेको हो कि जस्तो लागेको छ । यो चर्चा परिचर्चा त हिजो नानीमाया दाहालको पनि थियो पञ्चायतमा । यसले केही हुँदैन । हामीले इतिहास लेख्ने हो । इतिहास बनाउने हो । इतिहास हामीले नबनाए कसले बनाउँछ ?’
नेता रायमाझीले सरकारले ४ बजे बैठक बोलाएकोप्रति पनि असन्तुष्टि जनाए । उनले १२ बजे नै बैठक बोलाएर छलफल गरेको भए हुने भन्दै सरकारले कर्मकाण्डी रुपमा संसद् चलाउन नहुने भन्दै सुझाए ।

Comments are closed.