सांसद लक्ष्मी कोइरी निलम्बित

काठमाडौँ : हत्या आरोप लागी फरार सांसद लक्ष्मी महतो कोइरीलाई संसद् सचिवालयले निलम्बन गरेको छ। नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रोपटक संघीय संसद् सचिवालयलाई पत्र पठाएको थियो।

महोत्तरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरी सशस्त्र प्रहरी थमन विक हत्याका अभियुक्त हुन्। उनी नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुन्।

कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। त्यसपछि फरार रहेका उनको खोजी गर्न सहयोग माग्दै प्रहरी प्रधान कार्यालय नक्सालले संसद् सचिवालयलाई दुईपटक पत्र लेखेको थियो।

प्रहरी प्रधान कार्यालयले २०७९ साल पुस ७ गते नै सांसद कोइरी फरार रहेको सूचना संसद् सचिवालयका महासचिवलाई पत्र लेखेका थिए। सभामुख देवराज घिमिरेले भने नयाँ नियमावली पारित भएपछि पुनः प्रहरीबाट पत्र आउनुपर्ने अडान लिँदै आएका थिए।

उनले पुरानो पत्रका आधारमा सांसद कोइरीलाई निलम्बन गर्न आनाकानी गरेका थिए।

वैशाख १५ गतेको बैठकमा सभामुख देवराज घिमिरेले फरार सांसद कोइरीले अस्वस्थ रहेको भन्दै पठाएको पत्रलाई समावेश गरेर बिदा स्वीकृत भएको घोषणा गरेका थिए। त्यसलगत्तै सत्तापक्षका सांसदहरूले संसद्‌ले झूटो बोल्न नहुने भन्दै विरोध गरेका थिए। चर्काचर्की भएपछि संसद् नै स्थगित गर्नुपरेको थियो।

Comments are closed.