निराधार आरोप लगाएर मेरो चरित्र हत्या गरियो: आरजु राणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद आरजु राणा देउवाले निराधार आरोप लगाएर आफ्नो चरित्र हत्या भइरहेको बताएकी छन्।

आफूमाथि पछिल्ला केही दिनदेखि व्यक्तिगत र राजनीतिक चरित्र हत्या भइरहेको आरजुको भनाइ छ।

‘पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्ने दूषित मनशाय लिएर केही व्यक्तिहरूले मलाई लक्षित गरेर निराधार र कपोकल्पित आरोप लगाउँदै दुष्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ मंगलबार राणाले निकालेको विज्ञप्तिमा उल्लेख छ।

उनले आधारहीन गालीगलौज र लान्छना लगाउने अधिकार कसैलाई नभएको पनि बताएकी छन्।

‘हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ,’ उनले भनिन्, ‘मविरूद्ध व्यक्तिगत मानमर्दन गर्ने र हुँदै नभएका आधारहीन विभिन्न विवादमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरूको रिस, कुण्ठा र आवेग बुझिदिनुहुन अनुरोध गर्दछु।’

केही व्यक्तिहरूले सञ्चार माध्यमका अन्तर्वार्तामा आफूमाथि नियोजित रूपमा गालीगलौज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने जस्ता कार्य गरिरहेको आरजुको भनाइ छ।

आधारहीन, तथ्यहीन र चरित्रहत्या गर्ने उद्देश्यसहित आएका आरोपलाई स्थान नदिनसमेत आरजुले आग्रह गरेकी छन्।

Comments are closed.