सुदन किराँतीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको दाबी

काठमाडौँ – पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको दाबी गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किराँतीले आफूमाथि कुनै पनि दाग नलागेको बताएका हुन्।

उनले आफू मन्त्रालयबाट बेदाग भएर खुशीसाथ निस्किएको बताए। एक वर्षको अवधिमा धेरै काम गरेको र त्यसको परिणाम निस्किनेबेला भएको उनको भनाइ थियो।

उनले मन्त्रीको रुपमा रहँदा आफू कुनै पनि विवादमा नआए पनि विवादित बनाइएको उल्लेख गरे। प्रधानमन्त्रीलाई अनुभवी मन्त्रीहरुको आवश्यकता भएका कारण आफू नयाँ मन्त्रीमण्डलमा समावेश हुन नसकेको उनको भनाइ थियो।

उनले भने, ‘अहिलेको जटिल परिस्थितिमा अनुभवी मन्त्रीहरुको आवश्यकता छ। यो जटिलतामा संकट मोचनका निम्ति, डुंगालाई पार लगाउनको निम्ति अनुभवी मन्त्रीहरुको जरुरी छ। प्रधानमन्त्रीले टिम मिलाउनुभएको छ। मभन्दा पनि अनुभवी हुनुहुन्छ नि उहाँहरु। मन्त्रालयबाट निस्किँदाखेरी मैले एकदमै खुशीसाथ म निस्किन पाएँ। किनकि म बेदाग फर्किएँ। ममाथि दाग लागेन। एक वर्षमा मैले धेरै काम गरेको छु। त्यसको परिणाम निस्किने बेला भइसकेको छ। म विवादित छैन। विवादित बनाइएको हो।’ किराँतीले सरकारले विश्वासको मत पाउने पनि बताए।

Comments are closed.