धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । केन्द्रमा सत्ता गठबन्धनबाट कांग्रेस बाहिरिनु परेपछि माओवादीका तीन र समाजवादी पार्टीका एक मन्त्री बर्खास्त गरेका शाहले अहिले भर्खरै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मुख्यमन्त्री शाहले धनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन् । यस्तै इन्दिरा गिरी र खुसीराम चौधरीलाई पनि मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्मा संलग्न गराएका छन् । इन्दिरा गिरिलाई कृषि राज्यमन्त्रीको जिम्मा दिइएको छ भने खुसीराम चौधरीलाई जिम्मेवारी तोकिएको छैन ।
आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाएका चौधरी नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता हुन् भने इन्दिरा र खुसीराम पनि नागरिक उन्मुक्ति पार्टीकै प्रदेश सभा सदस्य हुन् । नवनियुक्त तीनै जना मन्त्रीलाई आजै पद तथा गोपनीयताको शपथ गराएइको छ ।
मुख्यमन्त्री शाहले प्रदेश सरकारले बहुमत पाउने विश्वास गरेका छन् । आर्थिक मामिला मन्त्री बनेका घनश्याम चौधरी नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता हुन् । संघमा सत्ता समीकरण परिवर्तन भएसँगै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी माओवादी र एकीकृत समाजवादीका मन्त्रीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका थिए । ती दुई दलले शाहलाई दिएको समर्थन पनि फिर्ता लिइसकेका छन् ।
Comments are closed.