सुनकोसी मरिण डाइभर्सनः वैशाख २६ मा ‘ब्रेक थ्रु’को अन्तिम तयारी

काठमाडौं, बैशाख । राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाको सुरुङ खन्ने काम अब ११० मिटर मात्रै बाँकी रहेको सुनकोसी मरिण डाइभर्सन आयोजनाले जानकारी दिएको हो।

भौगोलिक जटिलता उत्पन्न नभए वैशाख २६ मा विशेष कार्यक्रम गरेर सुरुङ ब्रेक थ्रु गर्ने अन्तिम तयारी भएको आयोजना प्रमुख मित्र बरालले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सुरुङको ब्रेक थ्रु गराइने कार्यक्रम रहेको उनको भनाइ छ।

सुरुङ निर्माणका क्रममा सामान्य भौगोलिक जटिलता उत्पन्न भए पनि समाधान गरेर काम जारी रहेको उनले बताए। कुल १३.३ किलोमिटर लामो सुरुङमध्ये हालसम्म १३.१९० किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ।

बरालका अनुसार त्यसका लागि प्रधानमन्त्रीको समय मिलाइसकिएको छ। सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको छ। यस्तो मेसिन यसअघि भेरी बबई डाइभर्सन आयोजनामा प्रयोग भइसकेको बरालले जानकारी दिए।

उनका अनुसार विभागीय ऊर्जा, जलस्रोत शक्तिबहादुर बस्नेतबाट आयोजना प्रमुखलगायत अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीय स्तरमै समस्या समाधान गर्न तथा आयोजनाको काममा कुनै पनि गत्यावरोध आउन नदिन नियमित निर्देशन भइरहेको छ।

सुरुङसँगै बाँध निर्माणको कामलाई समेत गति दिइएको छ। हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभाग र हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न मन्त्रालयले यसअघि निर्देशन दिएको थियो। प्रधानमन्त्री दाहालले नियमित आयोजनाका सन्दर्भमा चासो राख्दै आएकाले पनि काम गर्न सहज भएको बराल सुनाउँछन्।

सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ। त्यसपछि वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ।

तराई–मधेसका विभिन्न जिल्लामा बाह्रैमास सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ। आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरिरहेको छ।

Comments are closed.