काठमाडौं, लघुकथा प्रतिष्ठान, नेपालले हरेक वर्ष ‘स्वस्तिका स्मृति लघुकथा सम्मान’ प्रदान गर्ने निणर्य गरेको छ । फुटकर रुपमा संख्यात्मक र गुणात्मक लघुकथा लेखी लघुकथाको उन्नयनमा उत्कृष्ट कार्य गर्ने एक जना नवोदित महिला सर्जकलाई वर्षेनी उक्त सम्मान प्रदान गरिने प्रतिष्ठानका व्यवस्थापक मनोहर पोखरेलले बताउनुभयो ।
यस कार्यबाट लघुकथाको संस्थागत र विधागत समुन्नति हुने जनाउँदै प्रतिष्ठानकी संस्थापक लक्ष्मी रिजालले लघुकथा लेखनमा महिला सक्रियता बढ्ने विश्वास राख्नुभएको छ । उहाँले हरेक वर्ष बैशाख १६ गते लघुकथाकर्मी स्वस्तिका सिम्खडाको जन्मोत्सवको अवसर पारेर सम्मान प्रदान गरिने जानकारीे दिनुभयो । उहाँले चाँडै अक्षयकोशको स्थापना गर्ने र यस सम्मानलाई संस्थागत गति दिने समेत जनाउनुभयो ।
लघुकथाकर्मी स्वस्तिका सिम्खडाको स्मृतिमा उक्त पुरस्कार घोषणा गरिएको हो । स्वस्तिकाको देहवसान २०८० साउन २० गते भएको थियो । उहाँको जन्म भने २०६१ बैशाख १६ गते भएको हो । उहाँ जुझारु लघुकथा लेखक हुनुहुन्थ्यो ।
लघुकथा प्रतिष्ठान, नेपालको नियमित वाचन तथा विश्लेषण कार्यक्रममा दर्जनौँ श्रृङ्खला उहाँले सञ्चालन गर्नुभएको थियो । बि. एड. प्रथम वर्षमा समेत अध्ययनरत् स्वस्तिका ‘गर्दै र सिक्दै’ सिद्धान्तको पक्षधर हुनुहुन्थ्यो । घोडा चढ्दा लडियो भने सिकिन्छ र आँट भरिन्छ भन्दै उहाँ थप्नुहुन्थ्यो– लड्ने डरले घोडा चढिएन भने काँतर भएको अनुभूतिले आफैँलाई भित्रभित्रै जलाउँछ र गलाउँछ ।
उहाँ सौम्य समाजको अनुहार ढाक्ने कालो पर्दा च्यात्न लघुकथा मार्फत् सहज हुने बताउनुहुन्थ्यो । पुरानो लेखन तौरतरिका र शैलीलाई सम्मान गर्दै आजका लघुकथाकर्मीको निजत्व झल्कने शैली हुनुपर्छ भन्नुहुन्थ्यो । लघुकथा वाचनमा समेत शब्दशब्दमा, वाक्यवाक्यमा प्रस्तोताले ध्यान पुर्याउनुपर्ने ठान्नुहुन्थ्यो ।
साहित्यमा र बोलाउने दुबैतिर उहाँको नाम स्वस्तिका सिम्खडा रहेको भए पनि नागरिकता र प्रमाणपत्रमा उहाँको नाम सोस्तिका सिम्खडा थियो । सिलाइबुनाइ, पाककला र होटल म्यानेजमेन्टमा तालिम प्राप्त उहाँ मान्छे धनको हैन मनको धनी हुनुपर्छ भन्नुहुन्थ्यो ।
वाचन कलाका सम्बन्धमा उहाँको कथन थियो– लघुकथामा पात्रले कुन परिवेश र मनस्थितिमा कस्ता कुरा अभिव्यक्त गरिरहेको छ भन्ने कुरा प्रस्तोताको वाणीले त्यसलाई सम्बोधन गर्न सक्नुपर्छ । नव रसको आभास प्रस्तोताको वाणीमा आउनुपर्छ । स्रोताको ध्यानलाई प्रस्तोताको वाणीले खिच्नुपर्छ । प्रस्तोता वाणीमा त्यो जादु घुस्नुपर्छ जसको एकैछिन श्रवणले पनि कार्यक्रमको अन्तसम्म स्रोतालाई अड्याइरहने बनाउनुपर्छ । आफ्नो कला, गला र स्वर स्रोताले खोजीखोजी नियाल्ने बनाउन सकियो भने मात्र सफल प्रस्तोता कहलिन सकिन्छ ।
लघुकथाकर्मी स्वस्तिका सिम्खडाका दुई दर्जन अधिक लघुकथा फुटकर रुपमा प्रकाशित र प्रसारित छन् । उहाँको असामयिक निधनले सम्पूर्ण लघुकथा जगत् मर्माहत रहेको बताउँदै प्रतिष्ठानका अर्का व्यवस्थापक नन्दलाल आचार्य भन्नुहुन्छ– लघुकथाकर्मी स्वस्तिका सिम्खडाको मृतात्माले शान्ति पाओस्, सम्पूर्ण लघुकथाकर्मीको तर्फबाट सहकर्मीलाई एकमुस्ट रुपमा हार्दिक श्रद्धाञ्जली !!!
Comments are closed.