२४ गतेबाट पूर्व प्रहरीहरूको आन्दोलन 

काठमाडौं । नेपाल पूर्व प्रहरी संगठनले प्रहरी कल्याणकारी कोषमा मूल धन केवल ४ अर्ब मात्रै मौज्जात हुनु र प्रहरी अस्पतालमा उपचार गर्दा पूर्व प्रहरीहरूले पैसा तिर्नुपर्ने यी दुई मुद्दाको बिरोधमा आगामी फागुन २४ गतेदेखि ज्ञापनपत्र सहितको आन्दोलन शुरू गर्ने भएको छ । आन्दोलन प्रहरी कल्याणकारी कोषको संचालक समिति बिरूद्व हुने भएको हो । यस आन्दोलनमा प्रमुख रूपमा दुईवटा मागहरू रहेको कुरा संर्घष समितिका सदस्य पूर्व एसएसपी मोहन जोशीले बताए । जोशीका अनुसार पूर्व प्रहरीहरूको पहिलो माग मूल कोषमा रकम कमि भएको कारण संरक्षक रहेका तत्कालीन प्रहरी महानिरीक्षक मोतीलाल बोहरा देखि ओमबिक्रम राणाको कार्यकाल सम्मको कल्याण कोषको आयव्यय गहिरो रूपमा छानबिन गर्न पूर्व प्रहरी सम्मिलित छानबिन कमिटी बनाउनुपर्ने रहेको छ । दोस्रो माग कल्याण कोषको मूलधनबाट बढत हुने आय ( बैंक व्याज) मध्ये ४० प्रतिशत बहालवाला , ४० प्रतिशत पूर्व प्रहरी र बांकी २० प्रतिशत आयमुलक कार्यका लागि नीतिगत निर्णय होस भन्ने रहेको छ ।
पूर्व प्रहरीहरूले हालको कल्याण कोष संचालक समितिले करिब २५ करोड पेट्रोल पम्प र गेष्ट हाउस निर्माणमा खर्च गर्न लागेको कुराको पनि बिरोध गरेको छ । साथै तत्काल पेट्रोल पम्प बनाउन छुट्टाएको १४ करोड रूपैयाँ पूर्व प्रहरीहरूको स्वास्थ्य र शिक्षामा रकमान्तर गरि प्रहरी अस्पतालमा निशुल्क स्वास्थ्य सेवा दिन पनि आग्रह गरेको छ । यही फागुन २४ गते देखि शुरू हुने देशव्यापी आन्दोलनमा प्रहरी प्रधान कार्यालय देखि जिल्ला तहमा जिल्ला प्रहरी कार्यालय सम्म कल्याण कोषको संचालक समिति बिरूद्व ज्ञापनपत्र दिने र त्यसपछि केही दिनको समय दिएर माग पुरा गराउनको लागि कुटनीतिक रूपले प्रयास गरिने जानकारी दिइएको छ ।त्यसरी प्रयास गर्दा पनि माग सम्बोधन नभए अदालतमा आफ्नो मर्का लिएर जाने अनि सदन , सडक र प्रेस मार्फत दबाब दिने कार्यक्रम रहेको समितिका अर्का सदस्य पूर्व एसएसपी दीपक रन्जितले जानकारी दिएका छन् । संगठनका महासचिव रोहवर केसीले तल्ला तहका गरिव प्रहरीलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था नगरेसम्म र कोषमा रकम कमी हुनुको कारण छानबिन नगरेसम्म यो आन्दोलन नटुङ्गिने जानकारी दिए । पूर्व प्रहरीहरूको यो आन्दोलनलाई समयमा नै सम्बोधन गर्न नसके कल्याणकारी कनेषको मामिला ललिता निवास जग्गा काण्ड झैं जेलियर अगाडि आउने अवस्था रहेको पूर्व प्रहरीहरू बताउँछन् ।

Comments are closed.