काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ अर्ब १८ करोड ३९ लाख २९ हजार रुपैयाँबराबरको ४ करोड ६९ लाख ३९ हजार किलो लसुन चीनबाट आयात भएको छ ।पछिल्लो पाँच आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा चीनबाट सबैभन्दा बढी लसुन नेपाल आयात भएको हो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लसुनको आयात अस्वाभाविक देखिएको छ । भन्सार विभागको ५ वर्षयताको आयात तथ्यांकअनुसार वार्षिक औसतमा १ अर्ब १५ करोड रुपैयाँको लसुन आयात हुँदै आएको छ । तर गत साउनदेखि मंसिरसम्ममा ६ अर्ब १८ करोडको आयात भएपछि प्रश्न उब्जिएको हो ।
व्यवसायीहरुका अनुसार चीनबाट आयात भएको लसुन पछिल्लो समयमा खुला सीमाको फाइदा उठाउँदै तस्करले भारत पठाउने गरेका छन् । यसले गर्दा चीनबाट नेपालमा लसुनको आयात अत्यधिक परिमाणमा बढेको उनीहरुको भनाइ छ । पछिल्लो पाँच आर्थिक वर्षको अवधिमा सबैभन्दा बढी लसुन चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा चीनबाट मात्रै आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा २ अर्ब २२ करोड ३९ लाख रुपैयाँबराबरको १ करोड ७० लाख २६ हजार किलो आयात भएको थियो ।यस्तै आर्थिक वर्ष २०७९÷८० मा ५ लाख ९९ हजार रुपैयाँबराबरको १ हजार ९ सय ९६ किलो लसुन चीनबाट आयात भएको थियो ।
चीनबाट आयत हुने लसुनको कूल परिमाणमध्ये झण्डै ८० प्रतिशत भारतमा तस्करी भइरहेको छ ।व्यवसायीहरुका अनुसार पछिल्लो समयमा भारतमा लसुनको उत्पादन निक्कै कम परिमाणमा भएको थियो । मौसम प्रतिकूलका कारण भारतमा लसुनको उत्पादनमा कमी आउँदा मागअनुसार आपूर्ति नहुँदा त्यहाँ निक्कै महँगो मूल्यमा बिक्री भइरहेको छ ।भारतमा प्रतिकिलो लसुनको मूल्य ४ सय भारतीय रुपैयाँ(प्रतिकिलो ६३९.८५ नेपाली रुपैयाँ)छ । चीनमा लसुनको मूल्य प्रतिकिलो करिब १५० देखि १६५ रुपैयाँ नेपाली पर्छ । खरिद भएको यो लसुनमा ढुवानी भाडा प्रतिकिलो करिब १५ रुपैयाँको हाराहारीमा लाग्छ । औपचारिक रुपमा चीनबाट आयात गरिएको लसुन नेपालसम्म आइपुग्दा करिब १८० देखि १९० रुपैयाँसम्म पर्छ ।यहि लसुन भारतमा तस्करी गरी पठाउँदा प्रतिकिलोमै कम्तिमा ३ सय रुपैयाँसम्म नाफा हुने भएकाले चीनबाट लसुनको आयात नेपालमा अत्यधिक बढेको हो । अनौपचारिक रुपमा भारतमा तस्करी हुने गरेकाले यसको विवरण भन्सार विभागको तथ्यांकमा भेटिँदैन ।चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा अत्यधिक परिमाणमा आयात भएको लसुन भन्सार विभागको आयातको सूचीमा १९ औं नम्बरमा परेको छ ।गत आर्थिक वर्ष २०८०÷८१ मा चीनबाट आयात भएको लसुन भन्सारको आयातको सूचीमा ३३७ नम्बरमा परेको थियो । यस्तै आर्थिक वर्ष २०७९÷८० मा आयातको सूचीमा चीनको लसुन १९५ नम्बरमा परेको थियो । भन्सार विभागका सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले पनि पछिल्लो असोज महिनादेखि नेपालमा चीनबाट अस्वभाविक रुपमा लसुनको आयात बढेको जानकारी दिए । तर अहिलेको आयात अस्वाभाविक देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए ।चीनको सामान नेपाल हुँदै भारतीय बजार पुगेको भारतीय अधिकारीहरूले गुनासो गर्दै आएका छन । लसुनको उत्पादन, खपत र आयात हेर्दा शंकास्पद नै छ,’ रेग्मीले भने । मुलुकको वार्षिक लसुन उत्पादन करिब ७३ हजार टन हो ।सन् २०१४ देखि भारतले चिनियाँ लसुन आयातमा बन्देज गरेको छ । खेती गर्दा उच्च विषादी प्रयोग भएको र भारतको मापदण्डअनुसार नभएको भन्दै आयातमा बन्देज गरेको हो । सस्तो चिनियाँ लसुन आयात हुँदा आफ्ना किसान मारमा परेको पनि भारतको ठहर छ । तर अवैध रूपमा भारतमा भित्रिने क्रम रोकिएको छैन । पछिल्लो समय लसुन तस्करीका लागि नेपाल ट्रान्जिट बनेको व्यवसायीहरू बताउँछन् ।
भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले ६ महिनाको आयात अस्वाभाविक भए पनि माघ लागेपछि आयात न्यून रहेको बताए । ‘६ महिनाको आयात हेर्दा अस्वाभाविक नै हो । तर प्रतिबन्धित वस्तु होइन, त्यही भएर आएकै छ,’ महानिर्देशक पुडासैनीले भने, ‘तर माघ लागेयता आयात कम भएको जानकारी पाएका छौं ।’ विभागका सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले अस्वाभाविक आयातको विषयमा विभाग जानकार रहेको र सूक्ष्म अध्ययन भइरहेको बताए । ‘आयात अस्वाभाविक नै छ, तर कारण भन्न सक्ने अवस्था भएन, कारण खोज्ने प्रयास जारी छ,’ उनले भने ।
Trending Now
- भीमदर्शन रोका स्मृतिकोषद्वारा शशी शाह र सहारा ज्येष्ठ नागरिक समाज सम्मानित
- Mark Carney sworn in as Prime Minister of Canada, new cabinet formed
- Macedonia nightclub fire: 51 dead, 100 injured
- Ghulam Ali, Aamir and Nazir’s voice “Ghazal Unkai Geet Unkai” released.
- The Sinja civilization is being studied for World Heritage listing
- सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने
- पूर्वराजाको ‘एक्सपेरिमेन्ट’ फेल, संयुक्त जनआन्दोलन समितिमा भाँडभैलो
- प्रहरीमा स्टाफ कलेज कोर्स नरोक्न सर्वोच्चको आदेश
- चैत २८ देखि बिस्का जात्रा, तयारी तीव्र
- भरतपुरका १ सय २९ सुकुम्बासी घरधुरीलाई लालपूर्जा वितरण
Comments are closed.