छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं, ३० जेठ

प्युठान, स्वर्गद्वारी नगरपालिका-४ भ्यागुतेस्थित सडकमा स्वर्गद्वारीबाट भिग्रीतर्फ जाँदै गरेको लु.१ च ६३४५ नम्बरको कार अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा कारमा सवार २ जना महिला, २ जना पुरूष र ४ जना बालक गरी ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।

बारा, प्रसौनि गाउँपालिका-२ पतंजलि चोकमा प्रदेश ३-०३-०२१प ९११९ नम्बरको स्कुटरलाई प्र.२-०२-०३-००१ त ७७० नम्बरको ट्याक्टरले सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक पर्सा वीरगंज महानगरपालिका-१५ ब्रहमचोक बस्ने ४५ वर्षीय राजमन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको परवानिपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, ईटहरी उपमहानगरपालिका-१२ खनार चोकमा प्रदेश १-०२-०४९ प ०८३ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही उपमहानगरपालिका-१२ बस्ने ६५ वर्षीय भरत प्रसाद दाहालको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.