काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन अन्तर्गत उम्मेदवारी दर्ता जारी छ । अहिले साझ ६ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । तर माथिल्लो नेताका आदेश कुर्दे दिउँसो ४ बजेसम्म अध्यक्ष र महासचिवमा कसैलेपनि उम्मेदवारी दिएका छैनन् । आदेश पर्खँदै गरेको एक नेताले न्युज अफ नेपालसँग कुरा गर्दै भने–खै अहिलेसम्म हाम्रा नेताले उम्मेदवारी दर्ता गर भन्नुभएको छैन , आदेश कुरेर बसेका छौ ।’
उनका अनुसार अध्यक्ष र महासचिव बाहेक अन्य पदमा उम्मेदवारी परेको छ । कुन पदमा कतिजनाले उम्मेदवारी दर्ता गराए भन्ने जानकारी छैन, आफ्नो पक्षधर नेताले यो पदमा उम्मेदवारी दर्ता गर नभनेसम्म चुप लागेर बसेका छौ । ‘ल्यापटप खोलेर बसिरहेका छौ, आदेश आउनासाथ आदेश दिएको पदमा उम्मेदवारी दर्ता गराउनेछौ अध्यक्ष र महासचिव पदमा प्रचार गरिरहेका एक उम्मेद्धवारले भने ।
मनोनयन सुरु भए पनि नेताहरूबिच सहमतिमा नेतृत्व छान्ने प्रयास जारी रहेको जनाएको छ । फ्याक्शन इन्चार्ज हिमाल शर्मा, कार्यदलका संयोजक तथा पार्टी उपमहासचिव शक्ति बस्नेत, निवर्तमान अध्यक्ष पञ्चा सिंह र अध्यक्षका दाबेदारहरूबिच पेरिसडाँडामा छलफल भएको थियो । छलफल सकारात्मक हुन नसकेपछि आजबाट निर्वाचन प्रक्रिया शुरु भएको हो । आगामी निर्वाचनबाट अध्यक्ष हुन उपमहासचिव तिर्सना हमाल, योगेन्द्र बुढा, विजय प्रकाश शर्मा सापकोटा, सुदिन पौडेल, हेमन्त करिाती, पार्वती नेगी राजन आले , सुमन थुलुङ राई र विश्वमणि थापा अध्यक्षका बलिया दाबेदार देखिएका छन् । यिनीहरुमध्येबाटै अध्यक्ष र महासचिव बनाउने सम्भावना रहेको छ । महासचिवमा मदन ढकालले उम्मेदवारी दिने तयारीमा छन् ।
निर्वाचन समितिका संयोजक मुक्ति प्रधानले सातै प्रदेशमा अनलाइन मनोनयनको व्यवस्था गरिएको जानकारी दिए । अखिल (क्रान्तिकारी)को आधिकारिक वेबसाइटमार्फत गर्न सकिने व्यवस्था गरेको छ । उम्मेदवारी मनोनयन दर्ताको समय सकिनासाथ प्रारम्भिक नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ । माघ ९ गते बिहान ११ बजेसम्म उम्मेदवारको नामावलीविरुद्ध दाबी विरोधको समय तोकिएको छ । सोहीदिन बिहान ११ बजेपछि दाबी विरोधको छानबिन र नामावली प्रकाशन गर्ने तालिका छ ।
कार्यतालिका अनुसार १० गते बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता, सोहीदिन दिउँसो २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ । माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचन समितिले प्रत्येक प्रदेशमा मतदान केन्द्र तोकेको छ ।
उमेरहद लागू भएपछि पहिलो पटक हुन लागेको निर्वाचनमा ३२ वर्ष उमेर हदको लागि २०४९ माघ ७ गतेपछि जन्मिएका प्रतिनिधिले मात्रै केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यमा उम्मेदवारी दर्ता गर्न पाईने व्यवस्था छ । गत असोज १० देखि १५ गतेसम्म भएको अखिल क्रान्तिकारीको सम्मेलनमा उमेर हदको विवाद चर्किएपछि बन्द सत्र स्थगन भएको थियो । पुस १३ गते मतदानमार्फत ३२ वर्षे उमेर हद लगाउने नीति बहुमतले पास गरिएको थियो । सोही आधारमा निर्वाचन प्रक्रिया शुरु भएको हो ।
उमेर हदका कारण केन्द्रीय समितिका १ सय ३८ जना बाहिरिएपछि सहमतिकै आधारमा सर्बसम्मत नया कार्यसमिति बनाउने तयारीमा छ । नयाँ विधान अनुसार ३३ जना पदाधिकारी, ४८ केन्द्रीय सचिवालय र १ सय ६२ केन्द्रीय सदस्यसमेत गरी २ सय ४३ जनाको समिति रहने व्यवस्था छ ।
Comments are closed.