रास्वपा मकवानपुरका ६ जना क्रियाशील सदस्यले छोडे पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहित ६ जनाले पार्टी परित्याग गरेका छन्।केही दिनअघि ६ जनाले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन्।‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिल्लाभित्र बलियो बनाउन हामी निःस्वार्थ भई लाग्दै आएका थियौं। तर, पार्टीले लिएको अहिलेको कार्यदिशा परिवर्तन भन्दा पनि सत्तालिप्सा र भागबण्डामा केन्द्रित भएको अनुभूति हामीसहित सबैले गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका कार्यकर्ता, शुभचिन्तक, एवम् आम नेपाली जनतालाई भ्रममा पार्ने मात्रै काम पार्टी नेतृत्वबाट भएको महसुस गर्दै आजकै मितिबाट साधारण सदस्य समेत नरहने गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको घोषणा गर्दछौं।’
उनीहरूले पार्टी सत्तालिप्सा र भागबन्डामा केन्द्रित भएकाले साधारण सदस्यसमेत नरहने गरी रास्वपाबाट अलग भएको घोषणा गरेका हुन्।
‘देशको उपप्रधान तथा गृहमन्त्री समेत रहनुभएका पार्टी सभापति रवी लामिछाने ज्यूले आफू सञ्चारकर्ममा छँदा राजनीतिज्ञलाई, आफू राजनीतिमा आएपछि सञ्चार क्षेत्रलाई, प्रतिपक्षमा हुँदा सरकारलाई र सरकारमा हुँदा प्रतिपक्षलाई गाली गर्ने बाहेक अरू केही गर्न सक्नुभएन,’ संयुक्त विज्ञप्तिमा उनीहरूले भनेका छन्, ‘उहाँको बोली र काममा ठूलै अन्तर देखिएको प्रष्ट छ। कार्यकर्ता, जनतालाई झुक्याउने र भ्रमको खेती गर्न पार्टी केन्द्रीय नेतृत्व माहिर रहेको कुरामा दुई मत भएन।’
पार्टी परित्याग गर्नेहरूमा जिल्ला सचिवालय सचिव भुवन खनाल, संघीय क्षेत्र नं १ का उपसभापति जगदीश दाहाल, हेटौंडा उपमहानगर समिति सदस्य टंक बहादुर हिम्डुङ, हेटौंडा १२, सिंगो वडा समिति उपसभापति निर्मला प्रजा बास्तोला छन्।
त्यस्तै हेटौंडा १७ का उपसभापति विकास श्रेष्ठ, सचिव श्याम सुन्दर राईले पनि पार्टी छोडेका छन्।

Comments are closed.