६० किलो सुन तस्करी प्रकरण:अनलाइनका एजेन्टमार्फत १ खर्बभन्दा बढीको भुक्तानी

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा सुन तस्करीको भुक्तानीका लागि अनलाइन कम्पनी पेवेलका एजेन्ट मार्फत एक खर्बभन्दा बढीको कारोबार भएको खुलेको छ । मोबाइल वालेट कम्पनी पेवेलको कारोबार पनि स्वाभाविक देखिएको छैन । सीआईबीले सजिलो पेको २०७८ जेठ २ गतेदेखिको कारोबार हेर्दा ३६ अर्ब देखिएको छ । त्यसअघि एक डेढ अर्बमा मात्रै सीमित थियो । दुवै कम्पनीबाट एक खर्ब २२ अर्ब ७१ करोडको कारोबार भएको सीआईबीको अनुसन्धानमा देखिएको छ ।
पेवेलका अध्यक्ष भीमप्रसाद तिमल्सिना, सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्य र सञ्चालक समिति सदस्य सुरज सम्शेर जबरा पक्राउ परेका छन् । भीमप्रसाद तिमल्सिना, सुरजशमशेर जबरासहितका सञ्चालक पक्राउ परेका छन् । पे–वेलमार्फत एक वर्ष अगाडिसम्म वार्षिक ११ अर्ब रुपैयाँसम्मको मात्रै कारोबार गरेको देखिएको छ भने २०८० वैशाख १२ गतेदेखि हालसम्म त्यो ८ गुणाले बढेको देखिन्छ । बितेको एक वर्षमा पे–वेलबाट ८६ अर्ब १७ करोडको कारोबार भएको र त्यो शंकास्पद देखिएको सीआईबीले जनाएको छ । पेवेलका दुईजना एजेन्टले ४ अर्बभन्दा धेरै रकम भौचर डिपोजिट गरेको फेला परेको छ । ६० किलो सुन तस्करीको रकम उनीहरुले पेवेलको खातामा भौचर डिपोजिट गरेका हुन् । पेवेलको बुटवलका एजेन्ट लालबहादुर कुँवर र बाराका एजेन्ट अरुणकुमार यादवले सो रकम डिपोजिट गरेका हुन् । अरुणले १ अर्बभन्दा धेरै र लालबहादुरले ३ अर्बधन्दा बढी रकम भौचर डिपोजिट गरेको अनुसन्धानमा भेटिएको छ । सुनको रकम अवैध माध्यमबाट रकम लेनदेन गराउन पेवेलका ८ जना एजेन्टले काम गरेको भेटिएको छ । २०८० वैशाख १४ पछि अहिलेसम्म पेवेलले ८२ अर्ब कारोबार गरेको देखिन्छ । सो अवधिमा ९ अर्ब मात्र वैध बाटोबाट रेमिट्यान्स आएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । ९ अर्बभन्दा बाहेक अरु रकमको स्राते खुलेको छैन । ‘सजिलो पे’ ले पछिल्लो एक वर्षमा २६ अर्ब कारोबार गरेको भेटिएको छ । सजिलोका सीइओ कश्यप मानन्धर, सञ्चालक भक्तपुर घर भएका सुशील ज्याकिबन्जा र काठमाडौँ–६ घर भएका फुन्सुक डाग्पा अथुप्छाङ खम्पालाई प्रहरीले पक्राउ गरेको छ । सजिलो पेका अध्यक्ष सुनील ज्याकिबन्जा फरार छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष साउनमा बाहिरिएपछि बरामद भएको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान अझै सकिएको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । गत वर्ष साउन २ गते ब्रेक सुमार्फत ल्याइएको ६० किलो सुन बरामदले नेपालमा चलिरहेको सुन तस्करीको अन्तर्राष्ट्रिय सञ्जालसम्बन्धी डरलाग्दो तथ्य बाहिर आयो । विशेषगरी चिनियाँ समूहले नेपालमै बसेर हङकङ र दुबईबाट एक साथ सुन ल्याउने गरेको खुलेको थियो । तस्करले अष्ट्रेलिया, कोरिया र दुबईमा एजेन्ट परिचालन गरेर त्यहाँबाट नेपाल पठाउन चाहनेहरुको पैसा संकलन गरेर सो रकमलाई डिजिटल मुद्र्रा ‘युएसडिटी’ मा रुपान्तरण गरेर हङकङमा पठाउने गरेको भेटिएको छ ।अष्ट्रेलिया, कोरिया र दुबईमा नेपालमा पठाउन भनेर आफन्तले बुझाएको रकम चाहिँ मोबाइल वालेट ‘पेवेल’ र ‘सजिलो पे’ का एजेन्टहरुले नेपालमा भुक्तानी दिने गरेका हुन् । सुन तस्करहरुको रकम भुक्तानीमा दुईवटा वालेट कम्पनीहरुको राष्ट्रबैंकको निति बिपरित हुण्डीको काम गरेको भेटिएको छ । ६० किलो सुन तस्करी गर्ने गिरोहले ३ हजार १९४ केजी सुनको तस्करी गरेको खुलेको छ ।
पहिलो चरणमा २९ जना पक्राउ गरेको सीआईबीले दोस्रो चरणको अनुसन्धान जारी राखेको छ । पहिलो चरणको अनुसन्धानबाट नेपालबाट ३९० किलो सुन तस्करी भएको खुले पनि त्यसको पैसा कहााबाट कसरी बाहिरिएको थियो भन्ने खुलेको थिएन । तर दोस्रो चरणको अनुसन्धानमा सीआईबीले अनलाइन भुक्तानी सेवा कम्पनीहरु प्रयोग भएको खुलाएको छ । दोस्रो चरणको अनुसन्धानका क्रममा सीआईबीको हिरासतमा अहिले २० आरोपी छन् । तीमध्ये ६ जना अनलाइन भुक्तानी सेवा कम्पनी ‘पे–वेल’ र ‘सजिलो पे’ का सञ्चालक हुन् । नेपाल भित्रिएको सुनको भुक्तानी अस्ट्रेलिया र कोरियाबाट क्रिप्टो करेन्सीमा भएको अनुसन्धानबाट खुलेको छ । अस्ट्रेलिया र कोरियामा रहेका नेपालीको रकम त्यहीँको सेन्ड मनीमा जम्मा गर्ने र यता नेपालमा रहेका आफन्तले भने सजिलो–पे र पे–वेलमार्फत पाउने गरेका थिए । दुई कम्पनीले २१ वटा बैंकमा खाता खोलेका छन् । सुनको भुक्तानी क्रिप्टोबाट भइरहेको खुले पनि त्यो पैसा अनलाइन पे–मार्फत पठाउने गरेको तथ्य खुलेको छ । ब्रेक सु र अन्य सामानमा राखेर पाँच वर्षमा ३१ सय ९४ किलो सुन नेपाल भित्रिएको निष्कर्ष सीआईबीको छ । जसमा ७२ जना संलग्न रहेको खुले पनि ४९ जना मात्रै पक्राउ परेका छन् ।

Comments are closed.