चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश निर्माणका लागि आफू जुनसुकै प्रकारको त्याग गर्न तयार रहेको स्पष्ट पारेका छन्। सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटीमा रिहा भई कारागारबाट बाहिरिएको भोलिपल्ट चितवनमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै उनले व्यक्तिगत पद, शक्ति वा स्वार्थभन्दा देश ठूलो भएको बताएका हुन्।
भैरहवाबाट सिधै चितवन पुगेका लामिछानेले भरतपुर महानगरपालिका–स्थित चौबिसकोटीमा आयोजित सभामा बोल्दै पार्टी एकता र सहकार्यका विषयमा पनि धारणा राखे। उनले अन्तिम समयमा मिल्नुपर्ने सबै शक्तिहरू मिलेरै अघि बढ्ने विश्वास व्यक्त गर्दै आफू त्यागका लागि पूर्ण रूपमा तयार रहेको दोहोर्याए।
“म कारागारमा हुँदा पनि यही कुरा भनेको थिएँ—म जे त्याग गर्न पनि तयार छु,” लामिछानेले भने, “पार्टी बनाउनु छ भने बनाउनुहोस्, पार्टीले जे निर्णय गर्छ, त्यही मान्छु। मलाई केही चाहिएको छैन। कसैलाई चुनाव चिन्ह चाहिन्छ भने लैजानुस्, झण्डा चाहिन्छ भने लैजानुस्, पार्टी कार्यालय चाहिन्छ भने लैजानुस्। चाहियो भने सिंगो पार्टी, सभापति, उपसभापति पनि लैजानुस्। देश बन्नुपर्यो, व्यक्तिको कुरा ठूलो होइन।”
उनले मिल्नुपर्ने राजनीतिक साथीहरूसँग निरन्तर संवाद भइरहेको जानकारी दिँदै एकता कुनै दबाब वा जबर्जस्तीबाट नभई विचार र उद्देश्य मिलेर हुने स्पष्ट पारे। “मिल्ने कुरा टाउको ठोकेर मित लगाउनेजस्तो होइन,” उनले भने, “अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं।”
लामिछानेले आफू एउटा निर्वाचन जित्नका लागि मात्रै राजनीतिमा नआएको पनि स्पष्ट गरे। उनका अनुसार उनको राजनीतिक यात्राको उद्देश्य एउटा पुस्ताको भविष्य बदल्नु हो। “म एउटा चुनावका लागि राजनीतिमा आएको होइन,” उनले भने, “म एउटा पुस्ताका लागि राजनीतिमा आएको हुँ।”
सभामा उनले सरकारलाई पनि स्पष्ट सन्देश दिँदै जसरी पनि समयमै निर्वाचन गराउने बाटोमा अघि बढ्न आग्रह गरे। उनले जेन–जी आन्दोलनको बलिदानबाट बनेको वर्तमान सरकारले जेन–जीकै सपना पूरा गर्ने आँट देखाउनुपर्ने बताए। “निर्वाचनतर्फ देश जानुपर्छ,” उनले भने, “जेन–जीको रगतबाट चुनिएको यो सरकारले जेन–जीको सपना पूरा गरोस्। रास्वपा जेन–जीका माग पूरा गराउन र निर्वाचन सम्पन्न गराउन सरकारसँगै उभिनेछ।”
सरकारलाई डराउनुपर्ने कुनै कारण नरहेको उल्लेख गर्दै लामिछानेले जनताको साथ सरकारसँग रहेको दाबी गरे। सुशासन र जनताका मुद्दामा स्पष्ट रूपमा अघि बढ्न सरकारलाई आग्रह गर्दै उनले रास्वपा पनि त्यस यात्रामा साथमा रहने बताए।
अन्त्यमा उनले जेन–जीहरूलाई सम्बोधन गर्दै आफू उनीहरूसँगै रहेको र निराश नहुन आग्रह गरे। “संरचना जलेको पीडा छ, तर त्यसभन्दा ठूलो पीडा सपना जलेको हो,” उनले भने, “सिंहदरबार जले बनाउँला, न्यायालय जले बनाउँला। तर वर्षौंदेखि खरानी भएका सपना कसले बनाउँछ ? हामी बनाउँछौं। जेन–जी भाइहरू, रवि दाइ साथमै छन्, चिन्ता नगर्नुस्।”
लामिछानेको यस अभिव्यक्तिलाई पार्टी एकता, त्याग र आगामी निर्वाचनप्रतिको स्पष्ट राजनीतिक सन्देशका रूपमा हेरिएको छ।







