सर्लाही – प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका धेरैजसो उम्मेदवारले मतदाताबाट अपेक्षित समर्थन नपाउँदा चुनावी परिणाम अत्यन्तै चकित पार्ने बनेको छ। जिल्लाभर पूर्वमन्त्री, पूर्वसांसद, पूर्वमेयरदेखि विभिन्न दलका प्रभावशाली नेतासम्म गरी १२४ जना उम्मेदवारको जमानत जफत भएको तथ्य सार्वजनिक भएको छ।
निर्वाचन ऐनअनुसार कूल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ। यस पटक सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा धेरै उम्मेदवारले उक्त थ्रेसहोल्ड पार गर्न नसक्दा जमानत जफत हुनेको संख्या असाधारण रूपमा बढेको हो।
मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार जिल्लाभर ६८ स्वतन्त्रसहित १५४ जना उम्मेदवारमध्ये ठूलो संख्या जमानत जफत हुने अवस्थामा पुगेका छन्।
क्षेत्र नं. १ मा निवर्तमान सांसदसमेत परे जमानत जफत हुने सूचीमा
सर्लाही क्षेत्र नं. १ मा २८ जना उम्मेदवारको जमानत जफत भएको छ। नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठ बाहेक अन्य उम्मेदवारले आवश्यक मत प्राप्त गर्न सकेनन्।यस क्षेत्रमा जमानत जोगाउन ७ हजार ३८५ मत आवश्यक थियो। तर जनता समाजवादी पार्टीका उम्मेदवार तथा निवर्तमान सांसद रामप्रकाश चौधरीले ३ हजार ९९१, पूर्व सांसद प्रमोद साहले ५ हजार ४९८ र नेकपा एमालेका उम्मेदवार तथा ईश्वरपुर नगरपालिकाका पूर्वमेयर मनोजकुमार देवकोटाले ६ हजार १०१ मत मात्र प्राप्त गरे।यहाँ कुल १ लाख ३० हजार ८७१ मतदातामध्ये ७९ हजार २०७ मत खसेको थियो, जसमा ७३ हजार ८४२ मत सदर भएको थियो।
क्षेत्र नं. २ मा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोको जमानत जफत
सर्लाही क्षेत्र नं. २ मा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोसहित २९ जनाको जमानत जफत भएको छ।यहाँ जमानत जोगाउन ७ हजार २३९ मत आवश्यक थियो। तर महतोले ५ हजार ९९२ मत मात्र प्राप्त गरे।यस क्षेत्रमा पूर्वमन्त्री महेन्द्रराय यादवले भने ८ हजार ५२३ मत प्राप्त गर्दै जमानत जोगाएका छन्। यहाँ कुल ७२ हजार ३८१ मत सदर भएको थियो।
क्षेत्र नं. ३ मा ३२ उम्मेदवारको जमानत जफत
सर्लाही क्षेत्र नं. ३ मा ३४ जनाले उम्मेदवारी दिएका थिए, जसमा ३२ जनाको जमानत जफत भएको छ।पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने १३ हजार ३३८ मत प्राप्त गर्दै जमानत जोगाएका छन्। यस क्षेत्रमा जमानत सुरक्षित गर्न ७ हजार ७८४ मत आवश्यक थियो।तर नेकपा एमालेका उम्मेदवार तथा पूर्व रक्षामन्त्री हरिप्रसाद उप्रेती, नेपाली कांग्रेसका विनोदकुमार खनाल लगायतले आवश्यक मत प्राप्त गर्न सकेनन्।
क्षेत्र नं. ४ मा गगन थापा र एमाले उम्मेदवार मात्रै जोगिए
सर्लाही क्षेत्र नं. ४ मा ३८ उम्मेदवारमध्ये ३५ जनाको जमानत जफत भएको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अमनिसकुमार यादवले मात्र जमानत जोगाएका छन्।यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भएका छन्।
निकटतम प्रतिस्पर्धी गगन थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन् भने एमालेका यादवले ९ हजार ३४३ मत ल्याएर जमानत जोगाएका छन्।
भारी मतान्तरका कारण बढ्यो जमानत जफत हुने संख्या
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ खसेको सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत राज्यकोषमा जाने कानुनी व्यवस्था छ।
यस पटक जिल्लाका चार वटै क्षेत्रमा विजयी उम्मेदवारहरूले अत्यधिक मत प्राप्त गर्दा अन्य उम्मेदवारहरू निकै पछाडि परे। यही कारण जिल्लामा जमानत जफत हुने उम्मेदवारको संख्या ह्वात्तै बढेको निर्वाचन अधिकारीहरूले बताएका छन्।
सर्लाहीको यो परिणामले पुराना र प्रभावशाली नेताहरूको राजनीतिक आधार खस्किएको संकेत मात्र होइन, मतदाताले नयाँ विकल्प रोज्न थालेको स्पष्ट सन्देश दिएको विश्लेषण हुन थालेको छ।








Discussion about this post