काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ जारी मतगणनाले नेपाली राजनीतिक परिदृश्यमा नयाँ शक्ति सन्तुलनको संकेत गरेको छ। सोमबार (फागुन २५) बिहान ११ः५० बजेसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४१ लाख मतको ऐतिहासिक आँकडा पार गर्दै स्पष्ट अग्रता कायम गरेको छ।
नेपाल निर्वाचन आयोगका अनुसार हालसम्म ८५ लाख २ हजार ८४२ मत गणना हुँदा रास्वपाले ४१ लाख १० हजार ६९४ मत प्राप्त गरेको छ। यसले समानुपातिकतर्फ उसलाई सबैभन्दा ठूलो दलका रूपमा स्थापित गर्ने संकेत देखिएको विश्लेषकहरूले बताएका छन्।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख ७७ हजार ७१७ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेकोनेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ११ लाख ६२ हजार ७०२ मत ल्याएको छ।
चौथो स्थानमा रहेको Nepal Communist Party (नेकपा) पाँच लाख ९९ हजार ५९४ मतसहित ६ लाख नजिक पुगेको छ।
यसबीच साना दलहरूको प्रतिस्पर्धामा पनि रोचक मोड देखिएको छ। श्रम संस्कृति पार्टी ले दुई लाख ९७ हजार ४२१ मत प्राप्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई उछिनेको छ। राप्रपाले हालसम्म दुई लाख ८० हजार ३५ मत प्राप्त गरेको आयोगले जनाएको छ।
त्यसैगरी जनता समाजवादी पार्टी नेपालले एक लाख २९ हजार ३२३ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टी ले एक लाख २३ हजार ६२१ मत पाएको छ।
निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कुल एक करोड नौ लाख मत खसेको छ। मतगणना अझै जारी रहेकाले अन्तिम परिणामसँगै दलहरूको प्रतिनिधित्वको स्वरूप स्पष्ट हुने अपेक्षा गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको मतपरिणामले पारम्परिक दलहरू र उदाउँदा राजनीतिक शक्तिबीचको प्रतिस्पर्धालाई झनै तीव्र बनाएको छ, जसले आगामी सत्ता समीकरण र संसद्को राजनीतिक दिशालाई पनि प्रभाव पार्न सक्ने देखिएको छ।







Discussion about this post