तिलोत्तमा, शब्दको सुगन्ध र सिर्जनाको उज्यालोले भरिएको एक साहित्यिक कार्यक्रमका रूपमा “तिलोत्तमा साहित्य सङ्गम” को १८औँ शृङ्खला शनिवार तिलोत्तमा–१, ड्राइभर टोलस्थित होराइजन गौतम बुद्ध माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। तिलोत्तमा साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त कार्यक्रम स्थानीय भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सर्जकहरूलाई एउटै सिर्जनात्मक चौतारीमा उभ्याउने प्रयत्नका रूपमा आयोजना गरिएको हो।
डा० मुरारी पराजुलीको अध्यक्षतामा तथा तिलोत्तमा नगरपालिका वडा नं. १ का वडाध्यक्ष फर्सुराम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम संस्थाका महासचिव लीलाधर पाण्डेयले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथिले साहित्यलाई समाजको आत्मा र चेतनाको ज्योति भएकोले सर्जकका सिर्जनाले मात्र समाजमा सकारात्मक चिन्तन र मानवीय संवेदनाको उज्यालो फैलाउने धारणा व्यक्त गर्नुभयो। भाषा, कला र साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता साहित्यिक अभियानहरूलाई सधैं प्रोत्साहन गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।
साहित्यिक रसले भरिएको उक्त कार्यक्रममा डा. मुरारी पराजुली, उद्धव देवकोटा, मोहन मरासिनी, लीलाधर पाण्डेय, ढालानन्द चालिसे, श्रीराम नेपाली, सङ्गम अनुरागी, मुकुन्द प्रसाद भट्टराई, पूर्णचन्द्र तिवारी, यदु लामिछाने, गीतादेवी न्यौपाने, उपमा पाण्डेय लगायत करिब डेढ दर्जन सर्जकहरूले कविता, मुक्तक, गजल तथा अन्य साहित्यिक विधामा आफ्ना मौलिक रचना वाचन गर्दै सिर्जनाको मधुर तरंग फैलाएका थिए।
कार्यक्रममा प्रस्तुत रचनाहरूको समीक्षा गर्दै साहित्यकार रमेश समर्थनले स्थानीय स्तरमा साहित्यिक गतिविधि निरन्तर सञ्चालन हुनु सुखद पक्ष भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले नयाँ प्रतिभालाई उजागर गर्ने मात्र नभई साहित्यिक वातावरणलाई जीवन्त र ऊर्जावान बनाउन महत्वपूर्ण भूमिका खेल्ने कुरा बताउनुभयो।
संस्थाका अध्यक्ष डा० मुरारी पराजुलीले साहित्य समाजको चेतना, सभ्यता र संस्कृतिको संरक्षणसँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै साहित्यिक उन्नयन र नवसर्जकका सिर्जनामा परिस्कार ल्याउन यस्ता साहित्यिक चौतारीहरू अत्यन्त आवश्यक हुने बताउनुभयो। साथै उहाँले तीन तहकै सरकारले साहित्य, कला तथा सङ्गीतका सर्जक तथा संस्थाहरूको संरक्षण र सम्बर्द्धनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
प्रतिष्ठानका महासचिव लीलाधर पाण्डेयका अनुसार “तिलोत्तमा साहित्य सङ्गम” प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको छ। साहित्यप्रेमी र सर्जकहरूलाई एउटै मञ्चमा जोड्दै सिर्जनात्मक वातावरण निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम निरन्तर अघि बढाइँदै आएको उहाँले जानकारी दिनुभयो।
यसरी शब्दका उज्यालो र सिर्जनाका स्पन्दनले भरिएको उक्त साहित्यिक भेटघाटले तिलोत्तमाको साहित्यिक आकाशलाई फेरि एकपटक उज्यालो बनाएको अनुभूति सहभागीहरूले गरेका छन्।








Discussion about this post