उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन हुनुभएको छ ।

बुधबार भएको निर्वाचनको पहिलो चरणमा तीन प्रतिष्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि आज अपराह्न २ः०० बजेका लागि दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो

पहिलो चरणको त्रिपक्षी प्रतिष्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई हुनुहुन्थ्यो । पहिलो चरणबाट संघाई बाहिरिएपछि अञ्जन र उमेशलालबीच दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो ।

दोस्रो चरणको निर्वाचन हुनुभन्दा अघि गरिएको सहमतिको प्रयास सफल भएपछि उहाँ वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको घोषणा गरिएको हो । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ ।

महासंघको बुधबार भएको निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनको आज बिहान सकिएको मतगणनामा जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जनले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने उमेशलालले ३१ दशमलव ५१ मत प्राप्त गर्नुभएको थियो । साथै संघाईले ३० दशमलव ४६ मत प्राप्त गर्नुभएको थियो ।

मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार छ सय २० मतमध्ये संघईले छ सय १३ मत प्राप्त गर्नुभयो साथै अञ्जनले पाँच सय ७३ मत र उमेशलालले चार सय २६ मत प्राप्त गर्नुभयो । साथै आठ मत बदर भए ।

जिल्ला नगरतर्फ कुल खसेको एक सय १७ मतमध्ये अञ्जनले ४७, संघईले ३९ र उमेशलालले २८ मत प्राप्त गर्नुभयो । साथै तीन मत बदर भए । वस्तुतगतर्फ खसेको एक सय २३ मतमध्ये उमेशलालले ६९, अञ्जनले ४१ र संघईले १२ मत प्राप्त गर्नुभयो भने एक मत बदर भएको थियो ।

महासङ्घको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनुहुनेछ ।

साथै बुधबारको निर्वाचनमा जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित हुनुभएको छ भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित हुनुभएको छ ।

Comments are closed.