चिनियाँ लेखक वाङलाई ‘नेपाल प्रज्ञालङ्कार’ हस्तान्तरण

बेइजिङ— नेपाल प्रज्ञालङ्कार पुरस्कार चिनियाँ लेखक वाङ होङ्वेइलाई हस्तान्तरण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रदान गरिएको उक्त पुरस्कार बेईजिंगमा आयोजित एक समारोहमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले ९० वर्षीय चिनियाँ लेखक वाङलाई हस्तान्तरण गरेका हुन ।
यसअघि नेपाल प्रज्ञा–प्रतिष्ठानले २०७८ असारमा काठमाडौँस्थित राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको पुरस्कार समर्पण समारोहमा भौतिक रुपमा उपस्थित हुन नसकेका वाङको सम्मानपत्र बेइजिङ पठाइएको थियो ।
उनले तीन हजार अमेरिकी डलर राशिसहितको नेपाल प्रज्ञालङ्कार पदवी पाएका थिए । नगद पुरस्कार पुराना लेखक वाङको बैंक खातामा दाखिला गरिएको थियो भने सम्मानपत्र बेइजिङ ल्याएर हस्तान्तरण गरिएको हो। नेपाली वाङ्मय क्षेत्रमा योगदान गरेवापत् जनवादी गणतन्त्र चीनका प्राध्यापक वाङ पुरस्कृत भएका हुन ।
सन् १९३४ मा जन्मिएका बेइजिङ निवासी लेखक वाङले पटकपटक नेपाल भ्रमण गर्नुका साथै दर्जन हाराहारी नेपाल सम्बन्धी पुस्तकहरू प्रकाशित गरेका छन् । सन् १९६३ मा नेपालमा गरिएको साहित्य र कलासम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा भाग लिनुका साथै चिनियाँ साहित्य र कला क्षेत्रमा नेपालको अध्ययन गर्ने एक प्रारम्भिक आगन्तुकमध्ये वाङ नै एक हुन् । सम्मान ग्रहण गर्दै लेखक वाङले सम्मानप्रति कृतज्ञता ज्ञापन गरे ।
चीनमा सांस्कृतिक क्रान्तिको १० वर्षपछि सन् १९८५ र त्यसपछि लगातार नेपाल भ्रमण गरेर उनले नेपालका बारेमा धेरै मोनोग्राफ र लेखहरू लेखी चिनियाँमाझ जनस्तरीय मित्रता र आपसी बुझाइमा योगदान गरेका थिए ।

 

Comments are closed.