बागलुङमा सञ्चालित अर्ना जेसिज कप फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाको श्री मेयर गण घोडाबाँधेले जितेको छ ।
शुक्रबार बांगेचौर खेलमैदान सम्पन्न फाइनल खेलमा वीर गोर्खाली युवा क्लबलाई १–० गोलले पराजित गर्दै श्री मेयर गण विजेता बनेको हो .
श्री मेयरको जितमा पीताम्बर घर्तीमगर नायक बने । पहिलो हाफको ३०औँ मिनेटमा प्रकाश निरौलाको पासमा पीताम्बर घर्तीमगरले गोल गरेका थिए ।
सेमिफाइनलमा चिल्ड्रेन स्पोर्टस् क्लबविरुद्व २–० गोलको नतिजा उल्टाउँदै ३–२ गोलको सनसनीपूर्ण जित निकालेको वीर गोर्खाली श्री मेयर गणसामु निरीह बन्यो ।
गोलरक्षक, डिफेन्स र मिडफिल्डमा अफ्रिकन खेलाडी उतारेको वीर गोर्खालीले फाइनल खेलमा कुनै जादु देखाउन सकेन । विजेता श्री मेयर गणले एक लाख ५० हजार र उपविजेता वीर गोर्खालीले ७५ हजार नगद, ट्रफी र मेडल प्राप्त गरेका छन् ।
फाइनल खेलमा मेन अफ दी म्याचको उपाधि श्री मेहरका पीताम्बर घर्तीमगर घोषित भएका थिए । प्रतियोगितामा पाँच गोल गरेका चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबका विंगर जोन ग्लोरीले हाई स्कोरर, श्री मेयर गणका विप्लव गुरुङले बेस्ट गोलरक्षक, विकास मगरले बेस्ट गोल, वीर गोर्खालीका सुशील थापाले बेस्ट फरवार्ड, एलेक्सले बेस्ट मिडफिल्डर, जोन जुनियरले बेस्ट डिफेन्डर र कालीपुल युनाइटेड क्लब बेनीले फेयर प्लेको अवार्ड जितेका छन् ।
Comments are closed.