काठमाडौँ – साउदी अरबले अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने घोषणा गरेको छ । अप्रिल १८ देखि जुनको मध्यसम्म लागू हुने नयाँ नियमअनुसार अधिकतम १ लाख साउदी रियालसम्म जरिवाना लगाइने बताइएको छ । हज सिजनका बेला मक्का र आसपासका पवित्र स्थलमा कडाइ गरिने जनाइएको छ ।
गृह मन्त्रालयका अनुसार भ्रमण भिसा मिलाइदिने, यातायात वा बसोबासको व्यवस्था गर्ने व्यक्तिलाई पनि समान जरिवाना गरिनेछ । एकभन्दा बढी व्यक्ति संलग्न भएमा जरिवाना रकम अझ बढ्न सक्नेछ । अनुमतिबिना मक्कामा प्रवेश गर्ने वा भिसा अवधि नाघेर बस्ने व्यक्तिलाई देशनिकाला गरी १० वर्षसम्म पुनः प्रवेशमा प्रतिबन्ध लगाइनेछ ।
यसका साथै यस्ता गतिविधिमा प्रयोग गरिएका सवारीसाधनसमेत जफत गर्न सकिने व्यवस्था गरिएको छ । जरिवाना लगाएपछि ३० दिनभित्र उजुरी दिने र ६० दिनभित्र प्रशासनिक अदालतमा पुनरावेदन गर्ने अधिकार पनि दिइएको छ ।







Discussion about this post