काठमाडौँ- पछिल्लो समय सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको तीव्र विस्तारसँगै काठमाडौँ उपत्यकामा साइबर अपराधका घटना चिन्ताजनक रूपमा बढ्दै गएका छन्। विशेषगरी “त्चगकत ःभ” भन्दै सुरु हुने अनलाइन सम्बन्धहरू अन्ततः ब्ल्याकमेलिङ, धम्की र मानसिक यातनामा परिणत हुने घटनाहरूले सर्वसाधारणलाई त्रसित बनाएको छ।
नेपाल प्रहरीका अनुसार पछिल्ला महिनाहरूमा सामाजिक सञ्जालमार्फत हुने ब्ल्याकमेलिङका उजुरीहरू उल्लेखनीय रूपमा बढेका छन्। फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप जस्ता प्लेटफर्महरू प्रयोग गरेर अपरिचित व्यक्तिहरूले मात्र होइन, चिनजानका साथीभाइ वा विश्वासिला देखिने व्यक्तिहरूले समेत प्रयोगकर्तालाई जालमा पार्ने गरेका छन्।
विश्वासको नाममा जाल
प्रहरीले सार्वजनिक गरेको चेतावनी सन्देशमा भनिएको छ—“विश्वास गर्नुअघि सोच्नुहोस्।” सुरुवातमा सामान्य च्याटबाट सुरु हुने संवाद विस्तारै व्यक्तिगत कुराकानीमा रूपान्तरण हुन्छ। त्यसपछि फोटो, भिडियो वा संवेदनशील सामग्री आदानप्रदान गराउने प्रयास गरिन्छ।धेरैजसो घटनामा पीडितलाई भावनात्मक रूपमा नजिक ल्याइन्छ। “म तिमीलाई माया गर्छु”, “म तिमीमाथि विश्वास गर्छु” जस्ता शब्द प्रयोग गरेर विश्वास जितिन्छ। त्यसपछि गोप्य तस्बिर वा भिडियो मागिन्छ। एक पटक यस्तो सामग्री हात लागेपछि अपराधीले त्यहीलाई हतियार बनाउँदै ब्ल्याकमेलिङ सुरु गर्छ।
प्रहरी अधिकारीहरूका अनुसार अनलाइनमा गरिने सानो लापरबाहीले जीवनभर पछुतो हुने अवस्था निम्त्याउन सक्छ। कतिपय पीडितहरूले डर, लाज र सामाजिक प्रतिष्ठाको चिन्ताले गर्दा उजुरी नगर्ने प्रवृत्ति पनि देखिएको छ, जसले अपराधीलाई अझ हौसला मिल्ने गरेको छ।एक प्रहरी अधिकारी भन्छन्, “धेरै केसमा पीडितहरू सुरुमा सामान्य रूपमा लिन्छन्। तर जब धम्की आउन थाल्छ—‘यो फोटो सार्वजनिक गरिदिन्छु’, ‘तिम्रो परिवारलाई पठाइदिन्छु’—त्यसपछि मात्र उनीहरू गम्भीर बन्छन्।”
चिनजानकै व्यक्ति पनि जोखिम
साइबर अपराध केवल अपरिचित व्यक्तिबाट मात्र हुने होइन। कतिपय घटनामा चिनजानका साथीभाइ, पूर्व प्रेमी–प्रेमिका वा नजिकका व्यक्तिहरूबाट पनि ब्ल्याकमेलिङ हुने गरेको प्रहरीले जनाएको छ।विश्वासका आधारमा आदानप्रदान गरिएका निजी तस्बिरहरू सम्बन्ध बिग्रिएपछि हतियार बन्ने गरेका छन्। यसले सामाजिक सम्बन्धमा दरार ल्याउनुका साथै मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने गरेको छ।
साइबर अपराधीहरूले प्रायः मनोवैज्ञानिक रणनीति अपनाउने गर्छन्। उनीहरूले पीडितलाई डर, लोभ वा भावनात्मक दबाबमा पारेर निर्णय गर्न बाध्य बनाउँछन्।कतिपय अवस्थामा “यदि तिमीले मेरो कुरा मानिनौ भने…” भन्दै धम्की दिइन्छ भने कतिपयमा “म तिमीलाई सहयोग गर्छु” भन्दै झुक्याइन्छ। यस्तो अवस्थामा धेरैजसो मानिसहरू निर्णय गर्न नसकेर गल्ती गर्छन्।
प्रहरीले सर्वसाधारणलाई केही महत्वपूर्ण सावधानी अपनाउन आग्रह गरेको छःकसैसँग पनि गोप्य तस्बिर वा भिडियो खिचेर नपठाउने , अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट सजिलै स्वीकार नगर्ने , च्याटिङका क्रममा अश्लील वा अपशब्द प्रयोग नगर्ने , कसैले दबाब, लोभ वा भावनात्मक कुरा गरेर केही मागेमा अस्वीकार गर्ने , व्यक्तिगत जानकारी (फोन नम्बर, ठेगाना, बैंक विवरण) नबाँड्ने ।
साइबर सुरक्षाका विज्ञहरूका अनुसार डिजिटल सचेतना नै सबैभन्दा ठूलो सुरक्षा हो।दुई तहको सुरक्षा (त्धय–ँबअतयच ब्गतजभलतष्अबतष्यल) प्रयोग गर्ने , पासवर्ड नियमित परिवर्तन गर्ने , सामाजिक सञ्जालको प्राइभेसी सेटिङ कडा बनाउने , शंकास्पद लिंक वा फाइल नखोल्ने ।
प्रहरीले स्पष्ट रूपमा भनेको छ—यदि कोही साइबर ब्ल्याकमेलिङको शिकार भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा सम्पर्क गर्नुपर्छ।उजुरी गर्दा पीडितलाई गोपनीयता कायम राख्दै आवश्यक कानुनी सहयोग प्रदान गरिने आश्वासन प्रहरीले दिएको छ। “ढिलो नगर्नुहोस्, नत्र समस्या झन् जटिल बन्न सक्छ,” प्रहरीको आग्रह छ।
डिजिटल युगसँगै साइबर अपराधको स्वरूप पनि बदलिँदै गएको छ। पहिले सामान्य ठगीमा सीमित अपराध अहिले व्यक्तिगत जीवनमा गहिरो असर पार्ने खालको बन्न थालेको छ।विशेषगरी युवायुवतीहरू लक्षित हुने गरेका छन्, जसले सामाजिक सञ्जालमा बढी समय बिताउने गर्छन्।
नेपालमा विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराधलाई गम्भीर अपराध मानिन्छ। ब्ल्याकमेलिङ, गोपनीयता उल्लंघन, अश्लील सामग्री प्रसारण जस्ता कार्यमा संलग्नलाई कारबाही हुने व्यवस्था छ।प्रहरीका अनुसार दोषी ठहरिएमा जरिवाना र कैद सजायसम्म हुन सक्छ।
“त्चगकत ःभ” भन्ने एउटा सानो सन्देशले सुरु हुने सम्बन्ध कहिलेकाहीँ जीवनकै सबैभन्दा ठूलो संकट बन्न सक्छ। त्यसैले डिजिटल संसारमा हरेक क्लिकअघि सोच्नु, हरेक सन्देशलाई शंका गर्नु र आफ्ना गोप्य कुरा सुरक्षित राख्नु अत्यन्त आवश्यक छ।प्रहरीको सन्देश स्पष्ट छ, “पहिला सोचौँ, सचेत बनौँ र सुरक्षित रहौँ।”








Discussion about this post