काठमाडौं–राजधानीको मुटु थापाथलीमा रहेको करोडौं मूल्यको जग्गा चेकको भरमा किनेर १४ वर्षसम्म भुक्तानी नगरी फरार रहेका कथित ‘सभ्रान्त’ समूहको ठगी काण्डमा नयाँ मोड आएको छ। लामो समयदेखि फरार रहेका अभियुक्तमध्ये थप एक जना पक्राउ परेसँगै बहुचर्चित यो प्रकरण फेरि चर्चाको केन्द्रमा आएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैशाख १५ गते मंगलबार सुभासनम शाहलाई भक्तपुरको चाँगुनारायण नगरपालिका–५ खरिपाटीबाट पक्राउ गरेको हो। उनीविरुद्ध चेक अनादर मुद्दामा काठमाडौं जिल्ला अदालतले यसअघि नै फैसला गरिसकेको थियो। बुढानिलकण्ठ–८ निवासी शाहलाई अदालतको आदेशअनुसार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यो घटनामा महावीर विल्डर्स प्रालि नामक कम्पनीमार्फत चार जना व्यक्तिले संगठित रूपमा ठगी गरेको आरोप छ। तीमध्ये हालसम्म तीन जना पक्राउ परिसकेका छन् भने एक जना अझै फरार छन्। पक्राउ पर्नेहरूमा अमर केशर सिंह, नविन राउत र सुभासनम शाह रहेका छन्। फरार रहेका अमरशमशेर राणा भने प्रभावशाली परिवारसँग सम्बन्धित भएको र उनलाई जोगाइएको आशंका पीडित पक्षले गर्दै आएको छ।
यो प्रकरण २०६८ साल असारमा सुरु भएको हो। नृपशमशेर जबरा नामक वृद्ध व्यक्तिको थापाथलीस्थित २७ आना जग्गा साढे ६ करोड रुपैयाँमा खरिद गर्ने सहमति भएको थियो। तर, नगद भुक्तानी नगरी महावीर विल्डर्सका सञ्चालकहरूले दुईवटा चेकमार्फत रकम दिने सहमति गरेका थिए।
तर ती चेक साट्न जाँदा खातामा रकम नभएको खुलेपछि वास्तविकता बाहिर आएको थियो। त्यसपछि पीडित पक्षले चेक अनादर मुद्दा दायर गरेको थियो। २०७१ वैशाख ९ गते काठमाडौं जिल्ला अदालतले प्रतिवादीहरूलाई बिगो भराउने फैसला सुनाएको थियो।तर, फैसला कार्यान्वयन हुन सकेन। वर्षौंसम्म उनीहरूले रकम नतिरेपछि पुनः २०८२ माघ २३ मा अदालतले पक्राउ पुर्जी जारी ग¥यो। साथै, बिगो नतिरेको खण्डमा २ वर्ष कैद सजायको आदेश पनि दिइएको थियो।
यस घटनामा संलग्न व्यक्तिहरू आफूलाई उच्च वर्गीय र प्रभावशाली व्यक्तित्वका रूपमा प्रस्तुत गर्दै आएका थिए। यही आवरण प्रयोग गरेर उनीहरूले ८५ वर्षका वृद्ध नृपशमशेरलाई छलकपट गरेको आरोप छ।कानूनअनुसार ८० वर्षभन्दा माथिका व्यक्तिले अचल सम्पत्ति किनबेच गर्दा संरक्षक आवश्यक हुन्छ। तर, उक्त कानुनी प्रावधानलाई छल्न गिरोहले नक्कली संरक्षक खडा गरेको खुलेको छ। पीडित पक्षका अनुसार उनीहरूले कामदारलाई नै संरक्षक बनाएर वडा कार्यालयबाट सिफारिस गराएर जग्गा पास गराएका थिए।नृपशमशेरका नाती दीपालका अनुसार, “हामीलाई थाहा नदिई, झुक्याएर कागजात तयार पारियो। नक्कली संरक्षक देखाएर जग्गा हत्याइयो। त्यसपछि १४ वर्षसम्म न पैसा दिए, न जग्गा फिर्ता।”
फरार रहेका अमरशमशेर राणा प्रभावशाली परिवारसँग जोडिएका व्यक्ति हुन्। उनी नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर राणाका छोरा तथा एक प्रमुख बैंकका सीईओ अशोक राणाका भाइ हुन्। यही कारण उनलाई पक्राउ गर्न ढिलाइ भएको भन्दै पीडित पक्षले प्रहरीमाथि नै प्रश्न उठाएको छ।पीडित पक्षको आरोप छ—“यदि सामान्य नागरिक हुन्थे भने अहिलेसम्म जेल परिसक्थे। तर प्रभावशाली पहुँचका कारण उनी अझै खुला घुमिरहेका छन्।”
यसअघि अमर केशर सिंह चैत २८ गते चित्लाङबाट पक्राउ परेका थिए। नविन राउत फागुन ७ गते पक्राउ परेर हाल पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागारमा छन्। अब सुभासनम शाह पक्राउ परेसँगै तीन जना प्रहरी नियन्त्रणमा आएका छन्।तर मुख्य योजनाकारमध्ये एक मानिएका अमरशमशेर राणा अझै फरार रहनुले अनुसन्धानमा थप जटिलता सिर्जना गरेको छ।
यो प्रकरणले एक वृद्ध व्यक्तिको जीवनमा गहिरो असर पारेको छ। ८५ वर्षको उमेरमा आफ्नो सम्पत्ति गुमाएर अदालत र प्रहरी धाउन बाध्य बनाइएको पीडित परिवारको भनाइ छ।१४ वर्षसम्म न्यायको खोजीमा भौतारिँदा उनीहरूले आर्थिक, मानसिक र सामाजिक पीडा भोग्नुपरेको छ। “हामीलाई न्याय कहिले मिल्छ?” भन्ने प्रश्न अझै अनुत्तरित छ।यो घटनाले नेपालको न्याय प्रणाली र अनुसन्धान निकायमाथि गम्भीर प्रश्न उठाएको छ। अदालतको फैसला आएको वर्षौंसम्म कार्यान्वयन नहुनु, फरार अभियुक्त लामो समयसम्म पक्राउ नपर्नु, प्रभावशाली व्यक्तिहरू संलग्न हुँदा ढिलाइ हुनु—यी सबैले प्रणालीगत कमजोरी उजागर गरेका छन्।विशेषगरी, चेक अनादर जस्तो स्पष्ट आर्थिक अपराधमा समेत यति लामो समयसम्म न्याय नपुग्नु चिन्ताजनक विषय बनेको छ।
हाल पक्राउ परेका तीन जनामाथि कानुनी प्रक्रिया अघि बढाइएको छ। उनीहरूलाई अदालतमा उपस्थित गराई थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।फरार रहेका अमरशमशेर राणाको खोजी कार्य जारी रहेको बताइए पनि उनको पक्राउ कहिले हुन्छ भन्नेबारे स्पष्टता छैन।
थापाथलीको यो जग्गा काण्ड केवल एउटा ठगी घटना मात्र होइन, यो नेपालको कानुनी कार्यान्वयन, प्रभावशाली पहुँच, र कमजोर नियमन प्रणालीको प्रतिविम्ब पनि हो। ‘सभ्रान्त’ आवरणभित्र लुकेका ठगीका यस्ता घटनाले सर्वसाधारणको विश्वासमा गहिरो चोट पु¥याएको छ।अब प्रश्न उठ्छ—के यो प्रकरणले पूर्ण न्याय पाउँछ, वा फेरि पनि प्रभावशाली पहुँचले सत्यलाई दबाउनेछ?समयले नै यसको उत्तर दिनेछ।







Discussion about this post