सिनालोआ — मेक्सिकोको सिनालोआ राज्यको राजधानी कुलियाकानमा टिकटकमा लाइभ प्रसारण गरिरहेका सामाजिक सञ्जाल इन्फ्लुएन्सर सेजार गास्तेलुमको गोली हानी हत्या गरिएको छ।
करिब ६ लाख ५० हजार टिकटक फलोअर रहेका गास्तेलुम मंगलबार दुई जनासँग पार्किङ क्षेत्रमा बसिरहेका बेला मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए। घटनाको भिडियोमा आक्रमणकारीहरू गास्तेलुम नजिक पुगेर गोली चलाएपछि घटनास्थलबाट फरार भएको देखिएको छ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शाइनबाउमले घटनाको कडा निन्दा गर्दै हत्या प्रकरणको निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई शीघ्र पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएकी छन्।
पछिल्ला वर्षहरूमा सिनालोआ राज्य लागूऔषध तस्करीमा संलग्न सिनालोआ कार्टेलका ‘लोस मायोस’ र ‘लोस चापितोस’ समूहबीचको आन्तरिक द्वन्द्वका कारण बढ्दो हिंसाबाट प्रभावित हुँदै आएको छ।
गास्तेलुमले सामाजिक सञ्जालमा आफूलाई ‘बेलिको’ भनेर चिनाउने गरेका थिए। मेक्सिकोमा यो शब्द केही आपराधिक उपसंस्कृतिमा कार्टेलसँग सम्बन्धित पहिचानका रूपमा प्रयोग हुने गर्छ। सुरक्षा अधिकारीहरूका अनुसार उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका केही भिडियोले आपराधिक समूहको एक गुटप्रति संकेत गरेको देखिएको छ।
यो घटना टिकटक लाइभ प्रसारणकै क्रममा भएको दोस्रो चर्चित हत्या हो। यसअघि मे २०२५ मा जलिस्को राज्यकी २३ वर्षीया सौन्दर्य इन्फ्लुएन्सर भालेरिया मार्केजको पनि टिकटक लाइभ गरिरहेका बेला गोली हानी हत्या गरिएको थियो।
यसैबीच अमेरिकी ट्रम्प प्रशासनले जलिस्को न्यु जेनेरेसन कार्टेल (सीजेएनजी) विरुद्ध थप दबाब बढाउँदै उक्त समूहका आठ नेताको पक्राउ वा दोषी ठहर गर्न सहयोग पुग्ने सूचना दिने व्यक्तिलाई कुल १० करोड २० लाख अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ।







Discussion about this post