नेपाली हास्यव्यङ्ग्य साहित्यमा विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार–२०८३’ का लागि हास्यव्यङ्ग्य निबन्ध आह्वान गरिएको छ।
हरेक वर्ष ‘बाङ्गा अक्षर’ ले व्यवस्थापन गर्दै आएको उक्त पुरस्कारको स्थापना ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहका लेखक राजेन्द्र कार्कीले गरेका हुन्।
यस वर्षको पुरस्कार चार जना विद्यार्थीलाई प्रदान गरिने आयोजकले जनाएको छ। प्रथम हुने विद्यार्थीले रु. २० हजार, द्वितीयले रु. १० हजार तथा तृतीय हुने दुई जना विद्यार्थीले जनही रु. ५ हजार प्राप्त गर्नेछन्।
कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्ने
प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विश्वभरका नेपाली भाषी विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्। सहभागी विद्यार्थी कुन कक्षामा अध्ययनरत छन् भन्ने स्पष्ट हुने गरी सम्बन्धित विद्यालयका प्रधानाध्यापकको सिफारिसपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।
प्रतियोगिताका लागि निबन्ध पूर्ण रूपमा मौलिक हुनुपर्नेछ। निबन्धमा हास्य र व्यङ्ग्यको उचित सन्तुलन हुनुपर्ने तथा बढीमा १ हजार ५०० शब्द हुनुपर्ने आयोजकले जनाएको छ।
निबन्ध देवनागरी लिपिमा टाइप गरिएको र भाषिक रूपमा शुद्ध हुनुपर्नेछ। कृत्रिम बौद्धिकता (AI) को प्रयोग गरिएको, अन्यत्रबाट चोरी गरिएको वा अरू कसैलाई लेख्न लगाइएको निबन्ध प्रतियोगितामा समावेश नगरिने स्पष्ट पारिएको छ।
सामाजिक विकृतिमाथि व्यङ्ग्य गर्नुपर्ने
प्रतियोगीले आफ्नो इच्छाअनुसार जुनसुकै विषयमा निबन्ध लेख्न सक्नेछन्। तर निबन्धले कुनै सामाजिक वा व्यक्तिगत गलत प्रवृत्तिमाथि हास्य तथा व्यङ्ग्यमार्फत प्रहार गरेको हुनुपर्नेछ।
कुनै व्यक्ति, जात, धर्म, वर्ण, सम्प्रदाय वा लिङ्गलाई लक्षित गरी व्यङ्ग्य, अपमान वा गालीगलौज गरिएको रचना भने स्वीकार नगरिने आयोजकले जनाएको छ।
इमेलमार्फत निबन्ध पठाउनुपर्ने
प्रतियोगीले निबन्ध MS Word फाइलमा टाइप गरी एक प्रति फोटो र छोटो व्यक्तिगत विवरण (Bio) सहित पठाउनुपर्नेछ।
निबन्ध असोज १४, २०८३ (सेप्टेम्बर ३०, २०२६) सम्ममा बाङ्गा अक्षरको इमेल bangaakshar@gmail.com मा पठाइसक्नुपर्नेछ।
प्राप्त निबन्धहरूको मूल्याङ्कन बाङ्गा अक्षरद्वारा गठित स्वतन्त्र निर्णायक मण्डलले गर्नेछ। निर्णायक मण्डलले उत्कृष्ट रचनाहरू छनोट गरी पुरस्कारका लागि सिफारिस गर्ने आयोजकले जनाएको छ।
घोषित विजेताहरूलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ।
बाङ्गा अक्षरले प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आगामी दिनमा समेत हास्यव्यङ्ग्य लेखनलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ। साथै, अभिभावक, शिक्षक, साहित्यप्रेमी तथा सम्बन्धित सबैलाई विद्यार्थीलाई प्रतियोगितामा सहभागी हुन प्रेरित गर्न र आफ्नो सम्पर्कमा रहेका विद्यालय तथा विद्यार्थीहरूमाझ प्रतियोगिताको सूचना पुर्याइदिन अनुरोध गरेको छ।








Discussion about this post