काठमाडौं – परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्त’प्रति दृढ रहेको दोहोर्याउँदै नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव तथा २०२६ नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिताको पुरस्कार वितरण समारोहलाई बिहीबार सम्बोधन गर्दै सचिव राईले दुई देशबीचको सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक साझेदारी, सहकार्य, समानता तथा एकअर्काका भावना र संवेदनशीलताप्रतिको सम्मानमा आधारित रहेको बताए।
उनले ७१ वर्षको अवधिमा नेपाल–चीन सम्बन्ध परम्परागत मित्रता र सांस्कृतिक आदानप्रदानबाट साझा समृद्धिका लागि बृहत् साझेदारीतर्फ विस्तार भएको उल्लेख गरे। उच्चस्तरीय भ्रमण तथा विभिन्न तहका आदानप्रदानले द्विपक्षीय सम्बन्धका सबै पक्षमा थप गतिशीलता ल्याएको उनको भनाइ थियो।
सचिव राईले नेपाल र चीनले नियममा आधारित विश्वव्यवस्था तथा बहुपक्षीयताप्रति दृढ प्रतिबद्धता जनाउँदै साझा हितका विषयमा विभिन्न बहुपक्षीय मञ्चमा सहकार्य गर्दै आएको बताए।
चीनले हासिल गरेको तीव्र आर्थिक विकासबाट नेपालले सिक्न चाहेको उल्लेख गर्दै उनले बढ्दो चिनियाँ अर्थतन्त्रसँग नेपालको आर्थिक सहकार्य थप गहिरो बनाउने इच्छा व्यक्त गरे।
उनका अनुसार पछिल्ला सात दशकमा नेपाल–चीनबीच व्यापार, लगानी, पूर्वाधार, पर्यटन, शिक्षा, संस्कृति तथा जनस्तरको सम्बन्धमा उल्लेख्य विस्तार भएको छ। ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क सञ्जाल तथा त्यसको शीघ्र कार्यान्वयनलाई नेपालले उच्च महत्त्व दिएको उनले बताए।
सम्बन्धमा पारस्परिक विश्वास गहिरिँदै गएको चिनियाँ राजदूतको भनाइ
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि नेपाल र चीनले एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएको बताए।
उनले नेपाल र चीन असल छिमेकी, मित्र तथा साझेदारका रूपमा सुखदुःखमा सँगसँगै उभिँदै आएको उल्लेख गरे। नेपालमा नयाँ सरकार गठन भएयता दुई देशबीचको राजनीतिक पारस्परिक विश्वास थप गहिरिएको र उच्चस्तरीय ‘बेल्ट एन्ड रोड सहकार्य’ ठोस परिणामसहित अघि बढिरहेको उनको दाबी थियो।
व्यापार, अर्थतन्त्र, पूर्वाधार, सम्पर्क–सञ्जाल, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटनलगायत क्षेत्रमा नयाँ प्रगति भइरहेको बताउँदै राजदूत माओमिङले ठूलो सङ्ख्यामा चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउने गरेको उल्लेख गरे।
उनका अनुसार दुई देशका जनताबीच भइरहेको नियमित र आत्मीय आदानप्रदान नै नेपाल–चीन सम्बन्धको वास्तविक आधार हो।
राजदूत माओमिङले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई ‘विकास र समृद्धिका लागि दीर्घकालीन रणनीतिक साझेदारी’को स्तरमा पुर्याएको स्मरण गरे।
चीनले शान्तिपूर्ण विकासको बाटो अवलम्बन गर्दै आएको उल्लेख गर्दै उनले सबै देशले आकार, शक्ति वा आर्थिक अवस्थाको आधारमा विभेद नगरी एकअर्कालाई सम्मान र समान व्यवहार गर्नुपर्ने तथा शान्तिपूर्ण सहअस्तित्व कायम गर्नुपर्ने धारणा राखे।
उनले पारस्परिक सम्मान र लाभका आधारमा नेपाल–चीन सम्बन्धलाई थप अघि बढाउन तथा दुई देशबीच भएका महत्वपूर्ण समझदारी कार्यान्वयन गर्दै साझा भविष्यको समुदाय निर्माणमा सहकार्य गर्न चीन तयार रहेको बताए।
लघु भिडियो प्रतियोगिताका विजेता सम्मानित
कार्यक्रममा आयोजित नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार तथा सम्मान गरिएको थियो। प्रतियोगितामा दिपेश स्याङ्दानले प्रथम स्थान हासिल गर्दै नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।
डिजिटल युगमा छोटा श्रव्यदृश्य सामग्रीले भाषा, दूरी र संस्कृतिको सीमाभन्दा माथि उठेर दुई देशका सम्बन्ध र जनताबीचको आत्मीयता प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेल्ने राजदूत माओमिङले बताए।
प्रतियोगितामा प्राप्त भिडियोहरूले नेपाल–चीन सम्बन्धका विविध आयाम तथा दुवै देशका प्राकृतिक र सांस्कृतिक पक्षलाई समेटेको भन्दै उनले सहभागीहरूको प्रशंसा गरे।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिज्ञ, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।






Discussion about this post