काठमाडौं – नेपाल ट्रष्टको कार्यालयले दिवंगत राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा उनीहरूको परिवारको नाममा रहेको वा हक, स्वामित्व तथा भोगाधिकार कायम हुन सक्ने चल–अचल सम्पत्तिको खोजबिन थालेको छ।
ट्रष्टले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै त्यस्ता सम्पत्तिसँग सम्बन्धित तथ्ययुक्त प्रमाण, कागजात तथा जानकारी उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको हो।
नेपाल ट्रष्टका अनुसार राजा वीरेन्द्र तथा उनको परिवारका सदस्यको नाममा रहेको कुनै पनि चल वा अचल सम्पत्तिको विवरण, प्रमाण, कागजात वा अन्य तथ्यगत जानकारी भएमा कार्यालयमा उपलब्ध गराउन सकिनेछ।
ट्रस्टको स्वामित्व वा हकअधिकारमा आउन सक्ने सम्पत्तिको पहिचान तथा संरक्षणका लागि सूचना संकलन गर्न सार्वजनिक आह्वान गरिएको कार्यालयले जनाएको छ।
सम्बन्धित सम्पत्तिबारे जानकारी वा प्रमाण उपलब्ध गराउन चाहनेले नेपाल ट्रस्टको कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। थप विवरण ट्रस्टको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाइएको छ।
सूचना उपलब्ध गराउन वा थप जानकारी लिन ०१–५३२५४६५ मा सम्पर्क गर्न तथा admin@nepaltrust.gov.np मा इमेल गर्न सकिने कार्यालयले जनाएको छ।







Discussion about this post