कृष्ण कँडेलको ‘डाइभर्सिटी एन्ड इमिग्रेन्स ड्रिम इन अमेरिका’ सार्वजनिक

चितवन घर भई हाल अमेरिकामा बसोबास गर्ने शैक्षिक तथा प्राज्ञिक व्यक्तित्व कृष्ण कँडेलद्वारा लिखित पुस्तक ‘डाइभर्सिटी एन्ड इमिग्रेन्स ड्रिम इन अमेरिका’ को विमोचन गरिएको छ ।
वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा बिहीबार आयोजित एक कार्यक्रमबीच वीरेन्द्र क्याम्पसका प्रमुख प्राध्यापक दयाराम पौडेलसहित विभिन्न व्यक्तिहरुले एकसाथ पुस्तकको लोकार्पण गरे ।

कार्यक्रममा पुस्तकका बारेमा बोल्दै लेखक कँडेलले अमेरिका कसरी तेस्रो राष्ट्रका नागरिकका लागि स्वप्नभूमि बन्न पुगेको छ, तेस्रो देशका मानिसको योगदानले कसरी अमेरिका बनेको छ र हामी कसरी अमेरिका पुगेर आफ्नो सपना पूरा गर्न सक्छौँ भन्ने विषयमा विभिन्न २४ च्याप्टरमा उल्लेख गरेको बताए । आफूले अमेरिका रहँदाछँदा अनुभव गरेका सन्दर्भ, अध्ययन र अवस्थालाई चित्रण गरेको हुनाले अमेरिकाको सपना देख्नेहरुका लागि पठनीय सामग्री तयार पारेको उनको भनाइ थियो ।

पुस्तक विमोचन गर्दै क्याम्पस प्रमुख प्राध्यापक दयाराम पौडेलले अमेरिकाका बारेमा जान्न, बुझ्न र त्यहाँ जाने इच्छा हुनेहरुका लागि विशेष तयारी गर्नका लागि अत्यन्त उपयोगी हुन सक्ने बताए ।

प्राध्यापक कृष्णप्रसाद पौडेल, राम रानाभाट, पदम न्यौपाने, सीतारामबहाुदर थापा, आचार्य लक्ष्मण भण्डारीलगायत वक्ताहरुले पुस्तकको समीक्षादेखि शुभकामनासम्मका विचार व्यक्त गरेका थिए । वीरेन्द्र क्याम्पसको विभिन्न तहमा अध्ययनरत विद्यार्थी, प्राध्यापक तथा साहित्यिक व्यक्तिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रम, क्याम्पस प्रमुख दयाराम पौडेलको अध्यक्षतामा महेश अधिकारीले सञ्चालन गरेका थिए ।

Comments are closed.