बंगलादेश ‘ए’ इमर्जिङ टिम्स एशिया कपको शीर्ष स्थानमा

कोलम्बो : ओमानलाई ८ विकेटलाई हराउँदै बंगलादेश ‘ए’ श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एशिया कपको शीर्ष स्थानमा उक्लिएको छ। जितका लागि ओमानले दिएको १२७ रनको लक्ष्य बंगलादेश ‘ए’ले १६.२ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्‍यो।

बंगलादेशको जितमा तान्जिद हसले सर्वाधिक ६८ रनको योगदान गरे। मोहम्मद नैयम शेख ४७ तथा जकिर हसन ११ रनमा अविजित रहँदा कप्तान मुहमद हसनले खातै खोल्न सकेनन्। त्यसअघि सिंहाली स्पोर्टस् क्लब, कोलम्बोमा टस हारेर पहिले ब्याटिङ थालेको ओमान ४६ ओभरमा अलआउट हुँदै १२६ रनमा समेटियो।

ओमानका लागि आयान खानले सर्वाधिक २६ रनको योगदान गरे। शुभ पालले २५, सोयब खानले २३ तथा कश्यप प्रजापतिले २२ रन जोडे पनि अन्य खेलाडी सम्झना लायकको प्रदर्शन गर्न सकेनन्। ओमानलाई सस्तैमा समेट्ने क्रममा तन्जिम हसन साकिबले सर्वाधिक चार विकेट लिए।

रकिबुल हसन र महमुदुल हसन जोयले समान दुई-दुई विकेट हात पारे। जितसँगै खेलेका दुई खेलमध्ये एकमा हार र एकमा पराजय भोगेको बंगलादेश ‘ए’ २ अंक सहित समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ।

आजै भएको अर्को खेलमा अफगानिस्तानले श्रीलंकालाई ११ रनले हराएको छ। जितका लागि अफगानिस्तानले दिएको २५२ रनको लक्ष्य पछ्याएको श्रीलंका ३८.५ ओभरमा अलआउट हुँदै २४१ रनमा समेटियो। १६ औँ ओभरमा १०२ रन बनाउँदा ७ विकेट गुमाइसकेको श्रीलंकाको पारी मिनोद भानुकाले उकासे।

उनी एक्लैले सर्वाधिक ११९ रनको योगदान गरे पनि जित दिलाउन भने सकेनन्।

त्यसअघि कोलम्बो क्रिकेट क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर २५२ रन बनायो।

अफगानिस्तानका रियाज हसनले सर्वाधिक ८२ रनको योगदान गरे। नुर अलि जदरानले ५३ तथा इकराम अलिखिल २४ रनमा अविजित रहे। जितसँगै अफगानिस्तान समूह ‘बी’को दोस्रो स्थानमा उक्लिएको छ।

Comments are closed.