खरेलको ‘स्मृतिपटलमा तपस्वीहरु’ सार्वजनिक

 

काठमाडौँ — पूर्वप्रहरी महानिरिक्षक अच्युतकृष्ण खरेलले आफ्नो जीवनकालमा संगत गरेका तीन तपस्वी खप्तड बाबा, श्यामचेतन बाबा र चुनचुन बाबाका बारेमा जोडिएका स्मृतिलाई पुस्तक रुप दिएर ‘स्मृतिपटलमा तपस्वीहरु’ सार्वजनिक गरेका छन् ।

शनिबार प्रहरी एकेडेमीमा आयोजित समारोहमा सच्चिदानन्द सरस्वती(खप्तडबाबा)का अध्येता प्राध्यापक शिवगोपाल रिसालले कृति विमोचन गरेका थिए । ‘एउटा कालखण्डका विशिष्ट आध्यात्मिक गुरुहरुका बारेमा कृति तयार पारेर लेखक खरेलले बाबाका भक्त तथा सिंगो समाजलाई ठूलो गुन लगाउनुभएको छ,’ प्राध्यापक रिसालले भने, ‘धर्म, कर्म, योग, भक्ति, चरित्र, त्याग र वैराग्यका विषयमा यो कृतिले अनन्तकालसम्म प्रभाव पार्ने निश्चित छ ।’ ७६ वर्षीय लेखक खरेलले ‘त्यागमा जेजति आनन्द हुन्छ, त्यो आनन्द कहिल्यै केहीमा प्राप्त नहुने’ धारणा राखेका थिए । उनले साधक बाबाहरुको संगतले आफूमा आध्यात्मिक चेत र शक्ति पलाएको अनुभव सुनाएका थिए ।

 

समारोहमा बोल्दै गीतकार यादव खरेलले ‘नेपाल–नेपालीसँग जोडिएका महान तपस्वीका बारेमा कृति लेखिनु समाजकै गौरवको विषय भएको र यसले समाज रुपान्तरणको मार्गप्रसस्त गर्ने’ टिप्पणी गरेका थिए । समीक्षक गीता त्रिपाठीले ‘स्मृतिपटलमा तपस्वीहरु’ लाई धार्मिक र आध्यात्मिक चिन्तन तथा चेतनाको संग्रहमा रुपमा अर्थ्याएकी थिइन् । शब्दार्थ प्रकाशनले निकालेको १ सय २० पृष्ठको कृतिमा लेखक खरेलले तपस्वीहरुको सानिध्यमा रहेर बिताएका क्षण तथा आध्यात्मिक चेतनाको बहुआयामिक पक्षमा केही घटनाहरु समेत जोडेर सचित्र बयान गरेका छन् ।

प्रहरी सेवामा ३ दशकको समय बिताएका र माओवादी द्वन्द्वकालको उत्सर्गमा प्रहरी महानिरीक्षक (२०५३–२०५७) बनेका खरेलको आत्मकथा ‘अच्युतकृष्ण खरेल’ यसअघि प्रकाशनमा आइसकेको छ ।

 

Comments are closed.