मंसिर ७ को विरोध प्रदर्शनलाई लिएर सुरक्षा मजबुत बनाएका छौँ : एसएसपी खत्री

काठमाडौँ । मंसिर ७ गतेको विरोध प्रदर्शनलाई लिएर नेपाल प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ ।

मंसिर ७ गते नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल युवा संघ र व्यवसायी दुर्गा प्रसाईंले गर्ने विरोध कार्यक्रमका लागि सुरक्षा कडा पारिएको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताएका हुन् ।

उनले विरोध प्रदर्शनबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारेको बताए । उनले आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको बताए ।

उनले नागरिकहरूलाई कुनै डर र त्रास नलिईकन आफ्नो दैनिकी बिताउन आग्रह गरे । उनले यातायातको आवागमनमा भने केही समस्या भएपनि त्यसको लागि पनि ट्राफिक प्रहरीसँगको समन्वयमा व्यवस्थापन गर्ने बताए ।

उनले मंसिर ७ गतेको प्रदर्शनमा प्रहरी प्रशासन प्रभावकारी रुपमा अघि बढ्ने गरी योजना बनाइएको बताए ।

उनले भने ‘विशेष गरेर दुई समूहले फरक फरक ठाउँमा काठमाडौँको तीनकुने र बल्खुमा उहाँहरूसमेतको छलफलबाट जिल्ला सुरक्षा समितिले कार्यक्रम गर्न तोकेको छ । काठमाडौँमा ७ गते के हुन्छ भनेर विभिन्न सूचना र चासो आएको छ । यो विषयमा प्रष्ट्याउनैपर्ने हुन्छ । यी दुई कार्यक्रम मात्रै होइन, नेपाल प्रहरीले यसभन्दा अघि पनि विभिन्न कार्यक्रम हामीले नेपाल प्रहरी लगायत विभिन्न सुरक्षा निकायहरु एकीकृत रुपमा सुरक्षा योजना र अहिलेको काठमाडौँमा हुँदै गरेको विरोध कार्यक्रम छ, र यसबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना र त्यसको परिचालनका लागि हाम्रा जनशक्ति लगायत हामीले यो कार्यक्रमबाट यसका असरहरू के के हुनसक्छन् ? भन्नेकुरालाई मध्यनजर गरी तीन वटै सुरक्षा निकायले एकीकृत सुरक्षा योजना बनाएर त्यसलाई हामीले लागू पनि गरिसकेका छौँ । विशेष गरी भोलिको कार्यक्रमलाई मध्यनजर गरी हामीले दुवै स्थानमा हुने कार्यक्रमको लागि समारोहस्थल र सम्भावित मानिसहरु भेला हुने विभिन्न ठाउँबाट र आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई स्मोथ गर्ने, उहाँहरूलाई शान्त सुरक्षाको अनुभूति दिलाउने हिसाबले हाम्रा विभिन्न हाम्रो काठमाडौँमा सर्कल छ, सर्कल सेक्टरबाट हाम्रो तालुक कार्यालयबाट प्रहरी प्रधान कार्यालय, उपत्यका प्रहरी कार्यालयबाट आएका मद्दतहरूलाई हामीले पूर्ण रुपमा सुरक्षा दिनेगरी हामीले प्रबन्ध गरेका छौँ । विरोध कार्यक्रमका लागि उहाँहरूले जुन घोषणा गरेको क्षेत्रहरू छ, उहाँहरूलाई पनि के अनुरोध गर्न चाहन्छु भने नेपाल सरकारले जनताको लोकतान्त्रिक अधिकारको विरोध र प्रदर्शन गर्न पाउने जुन संवैधानिक अधिकार हो त्यसलाई रक्षा गर्नको लागि हामी सुरक्षा निकाय जो फ्रन्ट लाइनमा खटिनेछौँ, हामीलाई स्पष्ट निर्देशन भएको छ, कार्यक्रमलाई कसरी सुरक्षित बनाउन सकिन्छ ? कसरी व्यवस्थित बनाउन सकिन्छ रु कसरी मर्यादित बनाउन सकिन्छ ? ताकि सरकारले यस्ता विरोधका कार्यक्रममा आफ्ना राज्यका एजेन्सी छन्, ती मार्फत सुरक्षा प्रबन्ध जुन छ, त्यसलाई विश्वसनीय र भरपर्दो बनाएर आम नागरिको जुन चासो र संशय छ, समाधान गर्ने भन्ने हाम्रो निर्देशन भएको छ । त्यसअनुसार प्रबन्ध गरेका छौँ । त्यसका लागि हामी सचेत पनि छौँ । आम नागरिकहरूलाई म कुनै पनि संशय बिना आफ्ना दैनिकीहरू चाहे कार्यालय होस्, चाहे विद्यालय होस् वा अरु कुनैपनि व्यवसाय गर्नको लागि ढुक्क भएर काम गर्नुहोस् । प्रहरी परिचालन हामी प्रभावकारी रुपमा तयारी गरेका छौँ । कसैले पनि शंका गरेर नडराउनु भए हुन्छ । प्रदर्शन गर्ने क्रममा सवारी आगमनमा केही अवरोध हुनसक्छ, त्यसमा ट्राफिक प्रहरीको सहयोगमा व्यवस्थापन गर्नेछौँ । आफ्नो पेसा र दैनिकीमा जानेहरूलाई कुनैपनि अवरोध हुने छैन । अत्यावश्यक सेवा सुचारु गर्न हाम्रा सबै शक्तिहरु परिचालन गरेका छौँ । काठमाडौँका ९० भन्दा बढी ठाउँमा हाम्रा मोबाइल, तयारी अवस्थामा रहनेछन् ।’

उनले काठमाडौँका ९० भन्दा बढीठाउँमा सुरक्षा प्रबन्ध गरिसकेको र प्रभावकारी रुपमा सुरक्षा व्यवस्थालाई अघि बढाइएको बताए ।

Comments are closed.