काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताउनुभएकाे छ ।
पार्टीले थालिरहेकाे मध्यपहाडी लाेकमार्ग केन्द्रित विशेष अभियान(झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा) का क्रममा दैलेखमा आठ राजनीतिक दलले बुझाएको ध्यानाकर्षपत्र बुझ्दै अध्यक्ष ओलीले अहिलेकाे सरकारले चीनसँग सहयाेग लिन डराउने बताउनुभयाे ।
आफू प्रधामन्त्री भएका बेला चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग नेपाली उत्पादन किन्न आग्रह गरेकाे र सीले त्यसका लागि चीन तयार रहेकाे बताउनुभएकाे उहाँले स्मरण गर्नुभयाे । अध्यक्ष ओलीले अहिलेकाे सरकार चीनकाे सहयाेग लिन अरुसँग डराएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘मैले चीन भ्रमण गर्दा चिनियाँ राष्ट्रपतिसँग हाम्राे व्यापार धेरै बिग्रिएकाे छ हाम्राे सामान किन्दिनुपर्याे भन्दा उहाँले तपाइँहरुले उत्पादन नै गर्नुहुन्न जे पठाउनुहुन्छ किन्दिन्छाैं ल पठाउनुस् भन्नुभयाे, अनि मैले भनेँ उत्पादनमा सहयाेग गर्नुपर्याे, सी ले भन्नुभयाे के उत्पादन गर्नुहुन्छ भन्नुस् न हामी सहयाेग गर्छाैं, तर अहिलेकाे सरकारले नै चीनकाे सहयाेग लिन सक्दैन डराउँछ के, चीनसँग डराएकाे हाेइन अरु काे-काेसँग डराउँछ ।’
अध्यक्ष ओलीले अहिले देशमा आयात बढ्दाे रहेकाे र निर्यात झन् झन् घट्दाे रहेकाे बताउनुभयाे । देशमा नक्कली निर्यात बढ्दाे रहेकाे उहाँले बताउनुभयाे । नेपालमा नक्कली निर्यात घटाउने हाे भने सक्कली निर्यात धेरै न्यून रहेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।
आफ्नो देशको विकास आफैंले गर्नुपर्ने उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘अबका पोल्टिकल पार्टीहरुले पोल्टिक्स मात्रै गरेर हुँदैन, विकासका नेता हुनुपर्दछ, उनीहरुले विकासको बारेमा जानकारी राख्नुपर्छ, कसरी विकास हुनसक्दछ, के हुनसक्छ यस्ता कुरालाई लिएर हामीले सोच्नुपर्छ, यसमा तत्काल काम थालिहाल्नुपर्ने आवश्यकता छ, किनभने कुनैपनि देश अर्काले आएर बनाइदिँदैन, आफ्नो देश आफैँले बनाउने हो ।’
अध्यक्ष ओलीले बिहान दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण आयोजना निरीक्षण गर्नुभएको थियाे ।
Comments are closed.