फेवातालमा नयाँ वर्ष लक्षित डुंगा प्रतियोगिता

पोखरा : पोखरामा जारी २५ औँ पोखरा सडक महोत्सवमा तेस्रो दिन डुंगा खियाउने प्रतियोगिता सम्पन्न भएको छ।

रेष्टुरेन्ट तथा बार एशोसिएशन नेपाल (रेवान)को आयोजनामा भएको प्रतियोगिताको खुलातर्फको प्रतिस्पर्धामा ‘स्विमिङपुल घाट ए’ विजयी भयो भने गौरीघाट तथा वाराहीघाट क्रमशः दोस्रो र तेस्रो भए। विजयी टोलीले २० हजार नगद पुरस्कार जित्यो भने दोस्रो १० हजार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गरे।

यसैगरी संस्थागततर्फको प्रतिस्पर्धामा टान गण्डकी प्रथम भयो भने रेवान पोखरा दोस्रो हुँदा नेपाल टुरिजम भ्यान एशोसिएशनले तेस्रो स्थान हासिल गर्‍यो।

उनीहरूलाई रेवान पोखराका पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई, पोखरा महानगरपालिका वडा नम्बर ६ का पूर्व अध्यक्ष हरि पहारी तथा कार्यक्रम संयोजक वीरेन्द्र लामा लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

यस्तै वेटर रेसमा बेन्जन रेष्टुरेन्टका रेशमबहादुर अर्याल प्रथम हुँदा चिल्ली बारका सुनिल गुरुङ दोस्रो भए भने बेन्जनकै सौरण ठकुरीले तेस्रो स्थान हासिल गरे। उनीहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार हात पारे।

वेटर्सतर्फ बेन्जनकै मोनिका नेपाली र माया घले प्रथम र दोस्रो हुँदा बेलिफकी रश्मि तिहारी तेस्रो भइन्। उनीहरूले क्रमशः ७ हजार, ५ हजार तथा ३ हजार नगद पुरस्कार जिते।

उनीहरूलाई आयोजक कोकाकोला कम्पनीका प्रतिनिधि र रेवान खराका पूर्व अध्यक्ष बलराम पहारी लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। सडकमै खाऔँ सडकमै रमाऔँ भन्ने नारासहितको यो महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको उत्साहजनक सहभागिता रहेको छ।

Comments are closed.