फिल्म ‘महाजात्रा’ गराउँदै हरिवंश

काठमाडौं : फिल्म ‘महाजात्रा’ को सार्वजनिक पहिलो पोस्टरमा अभिनेता हरिवंश आचार्यलाई शृङ्खलाका तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झाले बन्धक बनाएका थिए।

‘जात्रा’ देखि नै फडिन्द्र (विपिन), जोएश (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा) को भूमिका देखिँदै आएका तीन पात्रले अभिनेता आचार्यलाई ह्वीलचेयरमा लागिरहेका थिए।

यद्यपि, निर्माण टिमले सार्वजनिक गरेको नयाँ पोस्टरमा भने अभिनेता आचार्यको कारणले तीन युवा फडिन्द्र, जोएश र मुन्नाको हातमा हत्कडी छ।

अर्थात् अभिनेता आचार्यले यसपटक ‘महाजात्रा’ गराइरहेको प्रष्ट सङ्केत पोस्टरले गरेको छ। फिल्मका अभिनेता तथा कार्यकारी निर्माता बानियाँले फिल्मको कथासार झल्किने पोस्टर सार्वजनिक गरिएको जानकारी दिए।

‘पोस्टरमा देखिएका पात्रले यसको कथासार झल्काउँछ। पृष्ठभूमिमा हरि दाइ नेताको भूमिकामा छन् भने हामी तीनको हातमा हत्कडी छ। यसले धेरै तथ्य सङ्केत गरेको छ’, अभिनेता बानियाँले भने। फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलतापश्चात् षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ मा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिएको छ।

निर्देशक प्रदीप भट्टराईले फिल्ममार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए। अर्थात् यसमा हासो र रोदनको मिश्रण छ। अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङ्खला दर्शकको प्रिय बनेको छ। नेपालमा यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन्। फिल्मको ‘वर्ड अफ माउथ’ ले पनि यसलाई नयाँ नयाँ रेकर्ड बनाउन सहयोग गर्ने विश्वास फिल्मकर्मीको छ।

फिल्ममा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ।

म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ।

उक्त कम्पनीका प्रमुख छत्र थापाका अनुसार आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ।

फिल्ममा समावेश प्रमोशन गीत ‘क्या राम्रो हाम्रो जोडी।।’ मा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्मा देखिएकाछन्। एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको ‘क्या राम्रो हाम्रो जोडी।।’ गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन्।

Comments are closed.