पाटन । नेपाली भाषामा लेखिएको रामायणमा आधारित भई मैथिली भाषामा लेखिएको ‘अर्चनाकृत रामायण’ विमोचन गरिएको छ । मामाघर आश्रमद्वारा आज बाँडेगाउँमा आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले ‘वाल्मीकि रामायण’ र ‘रामचरितमानस’ रामायणका आधारमा पत्रकार अर्चना झाद्वारा मैथिली भाषामा लिखित रामायणको विमोचन गरे ।पूर्वउपप्रधानमन्त्री निधिले रामायणको लेखनबाट झाले आफू, आफ्नो परिवारका साथसाथै भाषा र संस्कृतिलाई अमर बनाएको धारणा राखे । उनले रामायणमा रामसँगै सीताको पनि चर्चा गरिनुपर्ने बताउँदै सीताविना रामको कथा अधुरो हुने धारणा राखे ।
“सीताको बर्णन ओझेलमा परिरहेको छ । सीता नेपाली चेली हुन् । मैले मेरो आँखाले हेर्दा रामायण भनेको धार्मिक ग्रन्थ मात्रै हैन, राजनीतिक प्रेरणादायी कथाको स्रोत हो । यसलाई बृहत् ढङ्गले हेर्नुपर्छ र बृहत् ढङ्गले व्याख्या गर्नुपर्छ”, नेता निधिले भने ।
उनले हामीले रामायणलाई कुन आँखाले हेर्छौं भन्ने कुरामा निर्भर गर्छ भन्नुहुँदै रामायण संसारको सबैभन्दा प्रेरणादायी राजनीतिक ग्रन्थ हो उल्लेख गरे । उनले आजको पुस्ताले रामायणलाई धार्मिक पुस्तक वा राम र सीताको कथामा मात्रै सीमित नगरी राजनीतिकरुपमा पनि हेरिनुपर्ने र त्यसबाट शिक्षा लिनुपर्ने धारणा राखे ।
प्रकाशित कृतिमाथि समीक्षा गर्दै राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रामायणमा रामको मात्रै चर्चा बढी गरिएको बताउँदै सीताको भूमिमा सीताको चर्चालाई व्यापकता दिइनुपर्नेमा जोड दिए ।
Comments are closed.