काठमाडौं महानगरको अराजक व्यवहार सह्य छैन : सडक डिभिजन कार्यालय

काठमाडौं । काठमाडाैं महानगरपालिकाले कार्यालय परिसरमा फाेहाेरसहितकाे धुलाे थुपादिएकाे विषयमा गम्भीर ध्यानाकर्षण भएकाे सडक डिभिजन काठमाडाैंले जनाएकाे छ ।\

शनिबार साँझ करिब ५ बजे सडक डिभिजन काठमाडौंको मिनभवनस्थित कार्यालयको गेटमा काठमाडौं महानगरको मिनी टिप्परबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको सडक डिभिजनले निकालेकाे शनिबार विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं जिल्लाभित्रका सडक निर्माण तथा मर्मत सम्भारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याइँ तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लंग भएको विज्ञप्तिमा उल्लेख छ ।

जेठ ११ गते शुक्रबार काठमाडौं महानगरका मेयर तथा सडक डिभिजनका डिभिजन प्रमुखबीच महानगरभित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियम बमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगरभित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ । यसअघि महानगरबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमति दिइएको समेत जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ ।

सडक डिभिजनको कार्य क्षेत्रभित्र भएका त्रुटी औंल्याई आवश्यक सुझाव दिए सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने पनि विज्ञप्तिमा उल्लेख छ ।

महानगरकाे व्यवहारकाे प्रतिकार गर्ने चेतावनी समेत सडक डिभिजनले दिएकाे छ । ‘आज मिति २०८१-०२-१२ गते शनिबार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा बिनाअनुमति सडक काटी सडकको स्टाण्डर चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिनाअनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनि सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजन सँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ, सडक डिभिजन काठमाडौंको कार्य क्षेत्रभित्र भएका त्रुटी औंल्याई आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सो को प्रतिकार गर्न समेत सडक डिभिजन काठमाडौँ बाध्य हुने व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ’- विज्ञप्तिमा लेखिएकाे छ ।

कलंकी-महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले प्रदूषण बेहोर्नुपरेको भन्दै सडक विभाग र सडक डिभिजन काठमाडौंको कार्यालय बाहिरको सडकमा काठमाडाैं महानगरले एक ट्रक धुलो थुपारिदिएको थियो । त्यस विषयमा गम्भीर ध्यानाकर्षण भएकाे भन्दै डिभिजन कार्यालयले विज्ञप्ति निकालेकाे हाे ।

Comments are closed.