सहकारी पीडितको धर्ना र अनशन तेस्रो दिन पनि जारी

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आह्वानमा सहकारी पीडितहरुले आज तेस्रो दिन पनि धर्ना तथा अनशनलाई जारी राखेका छन् ।दिनरात मिहिनेत गरी कमाएर बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गर्दै सूर्य आलेमगर, वीरेन्द्र गुरुङ र अविन श्रेष्ठले चर्को घाम र झरीलाई समेत बेवास्ता गर्दै अनशनलाई निरन्तरता दिएका हुन् ।
बचत फिर्ता र यसअघि सरकारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै सहकारी पीडित तेस्रो चरणको आन्दोलनमा छन् । उनीहरुले तत्काल २५ अर्बको कोष स्थापना गरी आफ्नो बचत फिर्ता दिन पनि सरकारसँग माग गरेका छन् ।
सरकारी तथ्यांकअनुसार देशभरका ३५ हजार पाँच सयमध्ये पाँच सयभन्दा बढी सहकारीले हजारौं बचतकर्ताको रकम अपचलन गरेका छन् । सहकारीमा आफैंले बचत गरेको रकम फिर्ता नभएपछि बचतकर्ताले विभिन्न समस्या भोग्नुपरिरहेको छ । न्याय माग्दै बारम्बार आन्दोलन गर्दासमेत सरकार मूकदर्शक बनेको उनीहरुको पीडित सुनिला पौडेल खनालको गुनासो छ ।
सहकारी पीडितहरुसँग सरकारले यसअघि दुई पटकसम्म सहमति गरेको थियो । तर, सहमतिअनुसार आफ्नो बचत फिर्ता नपाउँदा र अपचलनमा संलग्नलाई कारबाही नहुँदा सहकारी पीडित पुन: आन्दोलित भएका हुन् ।

Comments are closed.