‘राष्ट्र निर्माणमा दलित’ पुस्तक विमोचन

काठमाडौं – त्रिभुवनचन्द्र वाग्ले र किरणचन्द्र वाग्लेद्वारा लिखित ‘राष्ट्र निर्माणमा दलित’ पुस्तक प्रकाशित भएको छ । पुस्तकमा विभिन्न समयमा राष्ट्र निर्माणमा योगदान पुर्‍याएका दलित समुदायका नेताहरूको जीवनीलाई जीवन्त चित्रण गरिएको छ ।

यस पुस्तकमा ईश्वर रिजाल, उमालाल विश्वकर्मा, ऋषिबावु परियार, ओमप्रकाश वीके, ओमप्रकाश रामदाम, कालु सार्की, कृष्ण दर्जी, किसन दुसाध, कृष्ण दर्जी, कृष्णसिंह परियार, खेम नेपाली, गणेशबहादुर परियार, गिरीबहादुर घाँचे बसकी, गणेशबहादुर परियार,घोइरे कामी र गोल्छे सार्कीलगायत १२१ व्यक्तित्वका जीवनीहरूलाई समेटिएको छन् ।
कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, पूर्वमन्त्री जितु गौतम, संविधानसभा सदस्य कमला विश्वकर्मा, पूर्वराजदूत पद्मा सुन्दास, पूर्वसचिव डा मानबहादुर विकलगायतले पुस्तक विमोचन गरेका थिए ।

सो अवसरमा आयोगका अध्यक्ष देवराजले दलित समुदायका आर्थिक, सामाजिक र राजनीतिक समस्या समाधान नभएसम्म समृद्ध नेपाल निर्माणको सपना पूरा हुन नसक्ने बताए । उनले भने, ‘स्तर जतिसुकै उच्च तहमा पुगे पनि पनि दलित समुदायको हेर्ने र गर्ने व्यवहारमा कुनै परिवर्तन आएको छैन । जातीय विभेद र छुवाछुतमा कुनै परिवर्तन आएको छैन ।

पूर्वमन्त्री जीतुले पर्याप्त अधिकारलाई संस्थागत गरी थप अधिकार सुनिश्चित गर्न दलितलगायत सीमान्तकृत समुदाय एकजुट हुनुपर्ने बताए । पूर्वराजदूत सुन्दासले दलित समुदायको सीप, कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
संविधानसभा सदस्य कमलाले दलित समुदायका हकअधिकारका लागि थप कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने धारणा राखिन् । पुस्तकका लेखक त्रिभुवनचन्द्र र किरणचन्द्रले पुस्तकबारे चर्चा गरेका थिए ।

Comments are closed.