कवि विभा झाको ‘क्राइ नो मोर सीता’ लोकार्पण तथा अन्तरक्रिया

कवि विभा झाको मैथिली भाषाको कवितासंग्रह ‘नही सीता नहीं ‘को मैथिली साहित्यका कान्छा अनुवादक विमर्श झाद्वारा अङ्ग्रेजीमा अनुदित ‘क्राइ नो मोर सीता’कविता सङ्ग्रहमाथि अन्तरक्रिया सम्पन्न गरिएको छ । विमर्श फाउन्डेसनद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रमबीच कवि विभा झाको मैथिली कविता सङ्ग्रह ‘नहिं सीता नहिं’को अङ्ग्रेजी अनुवाद ‘क्राइ नो मोर सीता’को लोकार्पण तथा अन्तरक्रिया गरिएको हो ।

उक्त कृतिका कविताहरू सीतामाथि आधारित छन् । कार्यक्रममा १७ वर्षीय अनुवादक विमर्श झासँग युवाकवि विकास वत्सनाभले संवाद गरेका थिए । सानो उमेरमा किन अनुवादजस्तो गम्भीर विषयको चयन गरेको भन्ने प्रश्नमा अनुवादक झाले भने, “मैथिली मेरो मातृभाषा हो, तर यो भाषाको साहित्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु–याउन अङ्ग्रेजी अनुवाद आवश्यक छ । त्यही भएर अनुवाद गर्ने विचार गरेको हुँ ।”
अनुवादक झाले कृति अनुवाद गर्दा आफूलाई मैथिली शब्दभण्डारको विराटता र महिलाहरूको मनभित्रको भावलाई बुझ्ने अवसर प्राप्त भएको बताए । कविता सङ्ग्रह ‘क्राइ नो मोर सीता’को प्रकाशन विमर्श फाउन्डेसनले गरेको हो ।
फाउन्डेसनकी अध्यक्ष विभा झाले मैथिली साहित्यमा युवाको आगमनले उत्साह थपिएको बताइन् । अध्यक्ष झा उक्त कृतिको मूल लेखिका पनि छिन् ।
कार्यक्रमका प्रमुख अतिथि भाषा वैज्ञानिक डा रामावतार यादवले किशोर अनुवादक विमर्श झाको अनुवादकलाको प्रशंसा गर्दै भने, “मैथिली साहित्यलाई विमर्शजस्तो जोशिला युवा सर्जक तथा अनुवादकको खाँचो छ ।” उनले ‘क्राइ नो मोर सीता’ एक सफल अनुवाद कृति भएको बताउँदै अनुवाद साहित्यमा झाको निरन्तरताको कामना गरे ।
कार्यक्रमको अध्यक्षता गरेका शम्भु झाले कान्छा अनुवादक विमर्शमा साहित्य चेत र सम्भावना निकै बढी भएको बताए । उनले आगामी दिनमा पनि राम्रा मैथिली कृतिको अनुवाद आउनेमा आशावादी रहेको बताए ।

Comments are closed.