नेपाल सामाजिक, धार्मिक र प्राकृतिक विविधतायुक्त मुलुक भएकाले सबैको संरक्षण गर्नु राज्यको दायित्व हो : केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाल सबै नेपालीको साझा हो भन्ने कुरालाई आत्मसात् गर्ने बताउनुभएको छ ।

नेपाल मण्डल लिटरेचर कल्चर टष्टद्वारा बुधबार आयोजित बौद्ध विद्वान डा. अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन तथा अनागारिक गुरुमाँहरुमा सङ्घदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल सामाजिक, धार्मिक र प्राकृतिक विविधतायुक्त मुलुक भएकाले सबैको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।

‘नेपाल विश्वमा मानवतावादको चेतना फैलाउने र बुद्ध दर्शन दिने बुद्ध जन्मेको देश हो, सबै मानव र प्राणी जातिको भलो र करुणाको दर्शन दिने देश हो’, ओलीले भन्नुभयो ।

बुद्धका शिक्षालाई प्राप्त गरेर विस्तार गर्नुपर्छ भन्ने सोचका साथ आफू प्रधानमन्त्री हुँदा लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र बनाएको उहाँले बताउनुभयो । ‘बुद्ध दर्शनलाई जटिल बनाइनु हुँदैन, यो वैज्ञानिकतामा आधारित छ, हामी बुद्धका ज्ञान र शिक्षालाई विस्तार गराउने पक्षमा छौँ’, उहाँले भन्नुभयो ।

उहाँले बुद्ध दर्शन र ज्ञान फैलाउने कार्यमा भिच्छुहरुको महत्पूर्ण योगदान रहेको बताउनुभयो । यसको लागि उहाँले भिच्छुहरुलाई धन्यवाद दिनुभयो । ‘अब विश्वबाट बुद्धिजम मर्दैन’, उहाँले भन्नुभयो ।

Comments are closed.