नियात्रा: सिक्किमदेखि नेपालको मुक्तिनाथ धामसम्म

 जिन्दगी नै एउटा यात्रा हो, यो पनि कसैको छोटो हुन्छ कसैको लामो । यात्राहरू पनि धेरै प्रकारका हुनेगर्दछन्, कहिले योजनाबद्ध यात्रा, कहिले  आकस्मिक । यी यात्रामा पनि कहिले रोचक र यादगार हुन्छन् भने कहिलेकहीँ उराठलाग्दा र सम्झँदा पनि भाउन्न छुट्ने हुन्छन्। कहिले भने महिनौंदेखि सातु-चामल पोको पारेर यात्राको साइत पर्खेरबस्दा पनि जोजन मिल्दैन, साइत जुर्दैन भने कहिले नसोचिकनै हिँड्नपर्ने साइत जुर्छन् । हाम्रो पनि यस्तै यस्तै यात्रा हो “मुक्तिनाथ दर्शन ।” वर्षौंदेखि मनमा इच्छा पालेर वा सम्झिएर पनि जान नसकिरहेको अवस्थामा भगवानको इच्छा भएपछि “तँ चिता म पु-याउँछु भन्छन् रे” भनेजस्तो अचानक सन्  2022-को 13 अक्टोबरका दिन काठमाडौंबाट गुरुवर डा. शैलेन्दुप्रकाश नेपालको फोन आउँछ, “भाउज्यू दाज्यूलाई कस्तोछ ?  पवित्र मुक्तिनाथ बाबाको दर्शन गर्न जाने जोजन मिल्यो । समय र मौसम अनुकूल छ, 17 तारिक अक्टोबर 2022-को बिहान 5 बजी काठमाडौंबाट हिँड्नपर्नेछ, सबै तारतम्य मिलाएर आउनुहोला, गाडीको बन्दोबस्त हामीले मिलाएर राखेका छौँ ।” दोहोरो बात हुननपाउँदै फोन राखिदिनुभयो, मैले सफाइ दिने मौका नै पाइनँ, यो थियो डा. शैलेन्दुप्रकाश नेपालको हठी स्वभाव ।
कोविद-19 यानि कोरोनाको भयावह चपेटामा परेर संसार 2020 बिमारले ग्रस्त थियो । सरकारको आदेश थियो बाहिर निस्किन त परैजाओस् हेर्न पनि प्रतिबन्ध  थियो । सामाजिक सञ्जाल, टेलिभिजनदेखि लिएर फोनहरूमा पनि हजारौंका सङ्ख्यामा दिनहौं मानिसहरू बिमारी भएको र मृत्यु भएका खबरले त्राहिमाम तुल्याएको थियो। श्मशानघाट मात्र होइन अस्पतालतिर पनि लाश राख्ने ठाउँ नभएर एकमाथि अर्काको खप्टिएर राख्नुपरेको थियो । नदीका बहरहरूमा पनि लाश जलाउन पालो पर्खिएर बस्नुपर्थ्यो। उक्त भयावह दृश्य सम्झँदा अहिले पनि सपना पो हो कि! भनेर आङ सिरिङ्ग हुन्छ।
परिवार, आफन्त, इष्टमित्र र साथी-भाइ बिछोडिनुको पीडा एकातिर, अचानक आफन्त गुमाउनु पर्दाको दर्दनाक स्थिति अर्कातिर । आफन्तहरू अस्पतालमा भर्ना गरेर डा.सिस्टर र नर्सहरूलाई जिम्मा लगाएर आफू घरमा प्रार्थना गर्दै बस्नुको विकल्प थिएन । भगवानअघि हातहरू जोडेर प्रार्थना गर्नुबाहेक अरू कुनै उपाय थिएन। डा. हाम्रा भगवान हुन्, आफ्नो पर्वाह नगरी प्रत्येक बिमारीको उपचारगर्नु उहाँहरूको परमकर्तव्य थियो ।  प्रत्येक मानिसका अनुहार मार्क्सले छोपिएका हुन्थे, चिन्न पनि हम्मेहम्मे पर्थ्यो,  ऐले सम्झँदा काल्पनिक दन्त्यकथा वा कुनै पिक्चरमा देखाइने दृश्य जस्तै लाग्छ। यस्ता यस्तै धेरै घटना र परिस्थितिको सामना हामीले पनि गरेका छौँ । धेरै अनिँदा रातहरू र भोका-प्यासा दिनहरूसित बिताएका छौँ ।  ती कुनै कपोलकल्पित दन्त्यकथा होइनन् । वास्तविक जीवनको यात्रामा घटेका घटना हुन् ।
शरीरमा हुनपर्ने मात्रा भन्दा केही धेरै चिनी बोकेर हिँडिरहेका अनि यसो हेर्दा स्वस्थ देखिने मेरा श्रीमान    (पुण्यप्रसाद शर्मा) र म सन् 2020-को अक्टोबर 14-का दिन बल्लबल्ल करिब करिब नौ/दश महीनापछि रम्फूको सीमाना खोलिएपछि गान्तोकका एसडीएम श्री रविन सेवाबाट बाहिर जाने-आउने स्वीकृतिपत्र लिएर नेपाल, धरानको वीपी कोइराला अस्पतालमा अध्ययन गरिरहेकी सुपुत्री डा. मुक्ता शर्मालाई लिन सिलगढी हुँदै भारत-नेपालको सीमाना काकरभिट्टा पुगेका थियौं। छोरी मुक्ता पनि यसरी नै 14 तारीक अक्टोबर 2020-का दिन धरानको आफू अध्ययन गरिरहेकी अस्पतालबाट बन्दको स्वीकृतिपत्र लिएर सिलगढीस्थित घरमा आएकी थिइन्, गान्तोक जाने समय थिएन । कोविड जाँच गरेर हिँडेकी छोरीको सिलगढी आइसकेपछि बेलुका रिपोर्ट पोजिटिभ आएको खबर अस्पतालबाट आयो तर उनी स्ट्ङ थिइन्, अलग्गै बसेर उपचार गरिन् कुनै असर परेन ।
 हामीलाई थाहा भएन पुण्यप्रसाद शर्मा गान्तोकबाट आउँदा बाटोमै कोविद-19-को चपेटमा पर्नुभएको रहेछ। ज्वरो-सर्दीको समस्या देखेर अलग्गै, अर्कै घरको अलग्गै कोठामा बस्न भने। कारण म  छोरी क्वारनटाइनमा  बसे पछि परैबाट छोरीको सेवामा तल्लिन भएँ।  बल्ल बल्ल घर आएकी छोरी अनि कोविड पोजेटिभ….. मलाई  आकास झरेर थिचेको भान भएथ्यो। श्रीमानलाई मामुली ज्वरो-सर्दी होला भनेर दबाई खाएर अलग्ग बस्न त लाग्यौँ भरे चूपचाप हामीलाई पनि थाहा नदिइकन बेलुका बेलुका ब्ल्याक लेबलको चुस्की लिनु भएछ, पछि  पो थाहा भयो । खै कस्ले भन्यो ‘ह्विस्की- ब्रान्डी खानेलाई कोरोनाको बाह्र हातको टाँगोले पनि छुँदैन’ भनेर तर परिणाम विपरीत भयो। उक्त रहस्यमय तथ्य केही दिनपछि घर सफा गर्दा  मैले बोतल भेटिएपछि मात्र रहस्य खुल्यो ।
श्रीमानको स्वास्थ निकै बिग्रियो, अस्पताल नजाने हठी स्वभावका मेरा श्रीमानलाई केही दिन घरमा अक्सिजन लगाएर औषधि दिने काम भयो तर घरको चिकित्साले कुनै असर गरेन अझ सिकिस्त हुँदैजानुभयो । डा छोरीको सल्लाहमा डा. सी.पी. शर्माको क्लिनिक निवेदिता अस्पताल पुगेपछि मात्र  सत्य तथ्य प्रत्यक्ष भयो। उहाँलाई पनि कोविड पोजेटिभ भएर फोक्सोमा सङ्क्रमणले*निमोनिया) जरा गाडीसकेको रहेछ। मलाई सीधै छाँगाबाट खसेको भान भयो, अब के गर्ने, धन्न छोरी साथमा थिइन्, डा. सी. पी. शर्माले अस्पताल ढिलो ल्याएर मधौरूलाई यति सारो सिकिस्त पारेर के यमराजकोमा पठाउने विचार थियो? भनेर मलाई गाली गर्दै 27 अक्टोबर 2020-का दिन अस्पतालमा भर्ना गरिदिनुभएपछि पो आशङ्काले किंकर्तव्यविमूढ बनायो । डा.को रेखदेख र छोरी पनि डा. भएकै कारण बाहिरबाट आफू ढुक्क भएको देखिए तापनि चारैतिरको हाहाकार र भयावह दृश्यले मनमा शङ्का उपशङ्का र कौतुहल छाउनु स्वाभाविक हो ।
        सिलगढीस्थित निवेदिता नर्सिङ होममा डा. सी.पी. शर्मा र उनका सहयात्रीको देखरेखमा राखेर हामी आमा-छोरी घरमा मौन बसेका थियौँ। मौन बस्नुको कारण थियो कोरोनाकालीन समय कसैले कसैसित भेटघाट हुनसक्ने वा भेटघाट हुन नपाउने सरकारको फरमान । आवत जावतमा बन्द थियो । केही खाना रूच्छ कि ?  भनेर परिपरिका खाना बनाएर पु-याउन जाँदा पनि बाटोबाटै कुनै स्टाफलाई सुम्पेर फर्किनु पर्ने दयनीय अवस्था! बेलुका टिफिनको भाँडा फर्किएर आउँदा टिफिनमा खाइएको पाइए आमा-छोरीको मुहारमा उज्यालो छाउँथ्यो नत्र मुखामुख गर्न बाहेक कुनै बिकल्प थिएन,कसैलाई भनेर पनि साध्य थिएन । छोरीका मित्र डा. शिशिर श्रेष्ठ धरानबाट छुट्टी मिलाएर बिमारीको हालखबर बुझ्न सिलगढीआउनु भयो, उहाँ  डा भएको नातामा विशेष अनुमतिपत्र लिएर आउनु भयो  तर  यस्तो दयनीय अवस्थामा न अरू कोही आउन सक्ने स्थिति थियो न भेटघाट गर्न आफू नै कतै जाने सम्भावना नै थियो । यसर्थ बिमारीका बारेमा कसैलाई भनेर सहानुभूति पाउनुबाहेक कुनै अर्थ नै रहेन । छोरीले बढाएका छुट्टीहरू पनि सकिएपछि हिम्मत लिएर मैले यहाँ म छु तिमी आफ्नो पढाइलाई  निरन्तरता देउ भनेर बिदा गरेँ। डा .छोरी बाबालाई  अस्पतालमा छोडेर अश्रुपूर्ण अनुहार लिएर आफ्नो अध्ययनको क्रममा नेपाल फर्किन् ।
    सिलगढीको ठाउँ अनि म एक्ली घरमा। लण्डन हुने छोरी वर्षा पनि दिल्ली अवतरण गरिन तर कोविड जाँच  पछि रिपोर्ट  नआउनजेल उनि पनि दिल्ली इन्दिरागान्धी विमान स्थलमै रोकिएकी थिइन। म भने अस्पताल,  घर,  खर्चको जोगाड र छोरीहरूसँग सम्पर्कमा रहेर भित्र भित्र टुक्रिएकी  भए पनि उनीहरूको हिम्मत बन्दै दिन बिताउँदै थिएँ…अचानक एक साँझ मोबाइलमा एउटा मेसेज आउँछ, मेसेज थियो काठमाडौंबाट आदरणीय गुरुदेव डा. शैलेन्दुप्रकाश नेपालको । “नमस्कार  भाउजु के छ खबर ? न त दाजुलाई  नै अनलाइन  देख्छु न भाउजुको नै खोजखबर छ,  निकै दिन भयो र खबर बुझ्न खोजेँ।”
        डा. शैलेन्दुप्रकाश नेपालसँग हाम्रो पारिवारिक  साइनो छ। त्यसमा पनि मलाई र मेरो लेखाइमा  झकझक्याइ रहने, कहीं कतै कमीकमजोरीलाई गुरुलेजस्तो गाइड गरेर कलमलाई मौन रहन नदिने, भूलहरू सच्याइदिने, अभिभावकनै वा गुरुनै हुनुहुन्छ । गुरुका उक्त अभीष्ट सन्देश पाएपछि मनमा भरिएर पनि पोखिन नसकेका मेरा मनका छालहरू लेखेर पनि पोखाउन नसक्ने कुराहरू फोन गरेर नै पोखाउने मन बनाएँ । “सर ! खबर खै के भनौं! दाजु विरामी भएको पनि आज उन्नाइस दिन भयो, सिलगढीको निवेदिता अस्पतालमा राखिएको छ, छोरीको पनि छुट्टी सकिएर फर्किन्, सानी छोरी मास्टरको परीक्षा दिएर परीक्षाफलको  प्रतीक्षा नगरिकन यू.के.बाट दिल्ली विमानस्थल आइपुगिन् र कोविड जाँच गरेर रिपोर्ट पर्खिरहेकी छन्।  एकै श्वासमा महीनौंदेखि उकुसमुकुस भएर गाँठो परेका कुराहरू भनिदिएँ ।
       ” ए ! के भयो दाजुलाई ? ”  उहाँको प्रश्नलाई छोटो उत्तरले पुष्टि हुननसके तापनि संक्षिप्तमा बिरामीको कारण बताएर पन्छिनका निमित्त, “हजुरहरूको खबर कस्तो छ, गुरुमा र नानीहरू कस्तो हुनुहुन्छ ?” भनेर कुरा मोड्न चाहेँ ।
       “हामी ठीक छौँ। म चाहिँ साथीहरूसँग मुक्तिनाथ  दर्शन गर्न आएको छु, आजको वास कागबेनीमा छ। भोलि बिहान मुक्तिनाथ दर्शन गरेर फिर्छौँ। “
      पवित्र मुक्तिनाथ धामको नाम सुनेपछि अचानक मनमा आफैँमा उर्जा थपिएर हिम्मत आएको अनुभव भयो, गुरुलाई कुनै हिचकिचाहटबिना भक्कानिंदै निवेदन गर्दै भनें, ” सर ! भोलि मुक्तिनाथ बाबाको दर्शन गर्नुभएको समय दाजुको नाममा पनि भेटी चडाएर बल मागिदिनु होला,  त्यो रकम म कुनै दिन भेटमा तिर्नेछु ।” मेरो रोदन थामिएन, गुरुले पनि मेरो भावात्मक कुरा मनन गरेर, “हुन्छ ! न आत्तिनु भाउजु, म बाबासित आशीर्वाद मागेर पूजा गर्नेछु । म भोलि कल गर्छु है,” भनिराखेर सम्पर्क बिहीन हुनुभयो। यता म आफ्नै दिनचर्यामा लागेँ – खाना, अस्पताल आदि ।
          भोलिपल्ट शायद दश बजेर केही मिनट गएको हुनसक्छ गुरुको मोबाइलमा सन्देश आयो, ” भाउज्यू ! हामी बाबाको दर्शन गरेर फर्किंदै छौँ,  मैले दाजुको  नाममा पूजा गरेर भनेको छु,- “दाजु-भाउजु लिएर म फेरि हजुरको शरणमा दर्शन गर्न आउँनेछु’ भनेर भगवानसित शक्ति मागेर आएकोछु,  दाजुको स्वास्थ्यमा यथाशीघ्र सुधार आउनेछ छ, तपाईँले आफूलाई दह्रो पारेर बस्नु होला, म भोलि काठमाडौं पुगेर कल गर्छु है?” मैले ” हुन्छ सर” मात्र लेखेर पठाएँ ।
           म स्वयं पनि कोविदको सङ्क्रमणमा थिएँ त्यसबेला तर कसैलाई  भनिन। किनभने पतिदेवका छेउमा आफूलाई केही नभएको स्ट्ङ भएको अनुभव गर्नु परेको थियो । दिनमा पाँच/छ: पटक  अस्पतालको बाहिरसम्मको चक्कर, कतिपय कुराहरू त सम्झने फुर्सद नै भएनन् । नभन्दै वचन र कर्मले परिपक्व साहित्यका वरिष्ठ र विद्वान् प्राज्ञ डा. साहबले बेलुका काठमाडौं घर पुगेर भिडियो कल गर्नुभएर मेरा मनमा उठेका ज्वारभाटा शान्त पारिदिनुभयो,  मैले पनि यथार्थ कुरा राख्दै भनिदिएँ, “सर ! आज दाजुको रिपोर्ट नेगेटिभ आयो, खुशी लागेको छ तर मेरो भने फेरि जाँच दिएको छ।” “हिम्मतले काम लिनुपर्छ, धेरै कुरा सोचेर आफूलाई कमजोर पार्नुहुन्न, जे हुन्छ राम्रै हुन्छ ।” सरको आश्वासन थियो । श्रीमान बिरामी, छोरीहरू साथमा नहुँदा  एक्लो महशुस भएको समयमा आदरणीय गुरुदेवले म र मेरो समस्या प्रती यसरी खै गरिदिँदा उहाँका अघि एउटा अभिभावक भेटेर आँसुका  बलिन्द्र  धारा छुटेछन् मैले पत्तै पाइन…..। निकै बेर पछि मलाई  सम्झाएर उहाँ ओझेल हुनुभयो अनि  म भने बाबा मुक्तिनाथको मन्दिरमा गएर पूजा-अर्चनाको कल्पनामा डुबेंछु ।
भोली पल्ट मेरो पनि रिपोर्ट नेगेटिभ आयो र छोरीको पनि । छोरी दिल्लीबाट  घर आए पछि भने मलाई  केही राहत भयो। आमाछोरी साथमा भयौँ थप हिम्मत जुट्यो अनि अस्पतालको पच्चीसदिनको बसाइ  पछि उहाँलाई  घर लिएर आयौँ
         दिनहरू बित्दै गए, कोविद-19-ले पनि विज्ञानसित हार खाएर न्यूनतम् सङ्ख्यामा झरिरहेको थियो, खानपान र औषधिको कारण श्रीमान शनै:शनै: आफ्नो पूर्वस्थानतर्फ बढिरहेको प्रतीत हुन्थ्यो। मोजमज्जा, खानपान र हर्षोल्लासलाई प्राथमिकतामा राख्ने शर्मा साथी-भाइलाई आफ्नो कोरोनाकालमा बिताएका यथार्थलाई अँगालेर उहाँले रसिला र मनोरञ्जनपूर्ण कुरा गरेर आफ्नो आपतकाल भुलिदिनु हुन्थ्यो। अस्पतालको पच्चीसदिन र अन्य गरेर करिब डेढ महिनासम्म आफूले बिताएका कस्टकर दिन पनि भुल्न थालिसकेका थियौँ ।
         यसैबीच सानी छोरी वर्षाले यू केबाट आएपछि एउटा अन्तर्राष्ट्रिय कम्पनीमा अन्तर्वार्ता दिएकी थिइन्,  अन्तर्राष्ट्रिय कम्पनीबाट- “अविलम्ब बेङ्गलुरूको शाखा कार्यालयमा गएर आफ्नो पदमा जोइनगर्नु” भन्ने आदेश-पत्र पाउनासाथ जानपर्ने भयो, बाबाको त्यो दिन सम्झेर नजाने मन बनाएको देखेर बाबाले “अब म स्वस्थ छु छोरी, मेरो चिन्तालिने काम छैन, फेरि  मृत्युलाई पनि नटेर्ने आमा छन्, म ठिक भइसकेको छु, तिमी जानपर्छ भनेर सम्झाएपछि मात्र छोरी वर्षा बेङ्गलुरू जाने निर्णय गरिन्, हुनपनि आफ्नो भविष्यसित जोडिएको कुरा थियो। वर्षा बेङ्गलुरू गएर आफ्नो नोकरीमा जोइन्ट गरेपछि उता यू.के.को युनिभर्सिटीबाट परीक्षाफल राम्रो भएको सुसमाचार आयो, हामीले उनका सबै कागजात र सर्टिफिकेटहरू बेङ्गलुरू नै पठाइदिने काम ग-यौँ ।
      दिनहरू बित्दै गए, समय आफ्नो रफ्तारमा थियो , घरमा त हामी दुइ मात्र। आफ्नो व्यापार व्यवसायमा व्यस्त भयौं,  सिजनले ढोका ढकढक्याएको आभास भइरहेको थियो । छोरी डा. मुक्ताले एम डी को पढाइ सकेर  घर आएकी थिइन् । समय समयमा डा. शैलेन्दुप्रकाश नेपालसँग फोनमा भलाकुसारी त भइनै रहन्थ्यो तर अचानक सन् 2022-को अक्टोबर 13  तारीकका दिन “मौसम अनुकूल छ, मैले गाडी पनि बन्दोबस्त गरिसकेको छु, दाज्यू-भाउज्यू र छोरी 15 तारीख अक्टोबरका दिन काठमाडौं  आइपुग्नुपर्छ ,” भनेर केही प्रत्युत्तर पनि दिन नपाइकन फोन राख्नुभयो ।
 डा. शैलेन्दुप्रकाश नेपालसित भएको कुराकानी बारे बाबु-छोरीलाई सुनाएपछि दुवैको अनुहारमा लाली चडेको आभास पाइयो । छोरी मुक्ताले त झन् धरानबाटै साथीहरूसित मुक्तिनाथ दर्शन गर्न जाने अठोट गरेकी रहिछन्, त्यस्तै कतिपय कारणले नमिलेको कुरा पनि राखिन् र यसपटक भने भगवानले साथ दिएको कुरा गरिन्।
कुरा हो 13अक्टोबर 2022-को । अक्टोबर दशैँपछि तिहार अघाडि मुक्तिनाथको दर्शन गर्न जानलाई मौसम अनुकूल हुन्छ, नोभेम्बर 15- देखि भने हिउँ पर्न थालपछि असाध्य चीसो हुन्छ कि चाहिँ वर्खा लाग्नभन्दा अघाडि मार्च/अप्रिलतिर भन्ने कुरालाई हामीले मानेका थियौँ ।
 नभन्दै हामी तीनजना कसैलाई सुईंको नदिइकन सिलगढी झरेर दुईदिनपछि 16 अक्टोबर 2022-का   दिन भद्रपुरबाट सीधै काठमाडौंको त्रिभुवन विमानस्थलबाट टेक्सी लिएर  डा. नेपालको वासस्थान वसन्तपुर पुग्यौं । सुख-दु:खका भलाकुसारी भए पछि स्वयंपाक्के गुरुमाले स्वादिष्ठ भोजन तयारी गरेर बस्नुभएको रहेछ, भोकले आतुर भएका हामी चिनीमा कमिला झुण्डिएको पाराले झुण्डिन पुगेका थियौँ ।
भोलिपल्ट बिहान तारिक 17 तारिक अक्टोबर 2022-का दिन बिहान पाँचबजी डा. साहबले मिलाएको स्कर्पियो गाडीमा चढेर पोखरा हुँदै हामी घासा पुगेर  वास बस्यौँ। हामीसित काठमाडौंबाट जोडिएका डा. शिशिर श्रेष्ठका कनिष्ठ भाइ पुष्कर श्रेष्ठलाई पनि साथमा लगेका थियौं । डा नेपालले गाडी र बस्ने व्यवस्था अगावै मिलाएको हुँदा कुनै असुविधा भएन। विशेष कुरा चाहिँ के थियो भने गुरुमा अरूले पकाएको र कतै नखाने एकप्रकारको ब्रत भएकोहुँदा आफ्ना निम्ति खानपीन बोकेर खूबै व्यवस्थित भएर हिँड्नुहुँदोरहेछ, कतै आपत्ति परेन ।
चीसो ठाउँ घाँसामा अगावै बुक गरिएको सुव्यवस्थित होटल, पढालेखा, सभ्य र मिलनसार  गाडीका मालिक स्वयं चालक भाइको सदव्यवहार, सबैलाई रिझाउन सक्षम व्यक्तिको परिचय, पर्यटकहरू लिएर यात्रा गरिरहने परिपक्व व्यक्ति ।
सखारै उठेर स्नान गरिकन चियाको चुस्कीसितै मुक्तिनाथ तर्फ लाग्यौँ। शायद हिउँले होला उजाड देखिने भए तापनि बनपाखा, डाँडाकाँडा, कन्दरा हेर्दा अत्यन्त सुन्दर थिए, सेताम्मे हिमाल हाम्रो अँगालोमा छ जस्तो लाग्थ्यो । एकप्रकारका शोभायमान बिरूवाहरू फूलजस्तै बाटाका वरिपरि देखिन्थ्ये, म स्वयं पनि फूल र प्लान्टको सौखिन भएर होला मन्त्रमुग्ध बनेकी थिएँ, मानिसहरू स्विट्जरल्यान्ड भन्छन् यो भन्दा राम्रो त पक्कै छैन, केवल त्यहाँका मानिसहरूको इमान्दारिता, परिश्रम, लगनशील र उच्च विचारले सुन्दर बनिएको हुनसक्छ ! मलाई लाग्यो हाम्राहरूमा यो चेतना कहिले आउँछ । चौकीमा जानलाई मात्र गाँड कोराकोर गर्छन् तर देश निर्माण गर्नेकुरामा भ्रष्टाचारले सीमा नाघेको हुन्छ। कल्पना गर्ने प्रशस्त ठाउँहरू थिए । बाटबाटै फोटो खिच्ने कामहुन्छ । ” बेलुका भएपछि ढुङ्गा उडाउने हावा चल्नथाल्छ, बरू अलिक चाँडो गरेर दर्शन गरेर आएर खिचौँला फोटो,” नेपाल साहबको अनुभव र परिपक्वता बोल्यो ।
मुक्तिनाथको फेदिमा लगभग बिहानको 10 बजी पुगेका थियौँ । गाडी छोडेर पनि निकै पैदल यात्रा गर्नुपर्ने रहेछ, डाक्टर साहबको पन्ध्र मिनेटले काम गरेन । नाक ठोकिने उकालो तर सुन्दर ढङ्गमा काटेका होइनन् कुँदिएका सङ्गमरमरजस्ता ढुङ्गा ओछ्याइएका रहेछन्, हिँडिरहुँलाग्ने तर पनि कतिपय स्वास्थ्यको कारणले गुरुमा सविता नेपाललाई घोडामा चडाइयो, केही उकालो चडेपछि  छोरी डा.मुक्तालाई पनि कठिन भएको देखेर घोडामा चडाउने काम भयो तर हामीलाई भने मुक्तिनाथको आशीर्वादले र  दर्शनले कुनै सकस भएन, अझ बिरामी भनिएका मेरा श्रीमान पुण्यप्रसाद शर्माको उकालो चड्ने दृढविश्वासलाई के भन्ने! साक्षात् भगवान मुक्तिनाथको आशीर्वाद भन्नुपर्छ । कहीँ कतै श्वास-प्रश्वासमा कुनै समस्या देखिएन, यो थियो उनको अदम्य साहस । अझ यहाँ उदेक लाग्दो कुरा अथवा चमत्कार के भयो भने जस्का निम्ति सुस्वास्थ्य र दीर्घायुको कामना र भाकल गरेर दर्शन गर्नगइरहेका थियौँ उहाँलाई  न लेक लाग्यो, न अक्सिजनको आवश्यकता  प-यो,  न घोडा, न लाठी। ठम ठम मन्दिर परिसर पुगेर भगवानकन नतमस्तक भएर साष्टाङ्ग दण्डवत गर्ने हाम्रो समूहको पहिलो व्यक्ति उहाँलाई  पाउँदा हामी  खुशी र भावविभोर भएका थियौँ। मनमै मुक्तिनाथ बाबालाई कोटी कोटी नमन  गरेँ!!
कार्तिक महीनाको समय, हिउँ पग्लिएको चीसो पानीमा एक सय आठ धाराको पवित्र जलमा मैले स्नान गरेर इष्टदेव भगवान मुक्तिनाथकन पूजा-अर्चना गरेँ  र मनमनै भगवानलाई मेरो प्रार्थना पूर्ण गरिदिनुभएकोमा  नमन गरेँ। श्रीमानलाई उहाँको द्वारसम्म स्वस्थ पारेर         पु-याउन शक्ति प्रदान गरिदिनुहुने बाबा मुक्तिनाथलाई कोटीकोटी प्रणाम गरेँ!
यति टाढा भारतको बाइसौं राज्य सिक्किमबाट पुगेर मुक्तिनाथ बाबाको दर्शन गरेको पवित्र दिन पनि मङ्गलबार परेको हुँदा छोरी मुक्ताले भनिन्, ” आमा ! हप्तादिनमा दुई-दुई दिन व्रत बस्नु स्वास्थ्यका निम्ति पनि हानिकारक हुन्छ, स्वास्थ्य बिग्रने डर हुन्छ। यस्तो राम्रो दिनमा हामी भगवानको द्वारमा छौँ, आजै बाट मङ्गलबारको व्रतलाई भगवानसित आशीर्वाद मागेर खोल्नुहोस्, एकदिनको व्रत बस्दा भयो त !

 छोरीको सुझाव दुवै उचित। मैले पनि मङ्गलबारको व्रत मनमनै विसर्जन गर्ने कुरालाई विधिवत् पूजा गरेर मन्दिरबाट निस्किएपछि पूर्ण साङ्गे पछि घरमा कुनै पूजाआजाका दिन वा कुनै धार्मिक अनुष्ठानका दिन गर्छु भन्ने सोचले निस्किएँ।
मन्दिरको दर्शन गरेपछि फोटो लिँदै हिँड्ने फेसन सामान्य भइसकेको छ, हामीले पनि भरे फर्कँदा खिच्ने भनेर थातीमा राखिएको फोटो खिच्दै तल फेदीमा झरेर खानाको आनन्द लिएर रमाइलोसँग गाडीमा चढेर हिँड्यौं । बाटबाटै गाडी रोकेर फोटो खिच्नुपर्ने वाध्यता, सेल्फी डाँडामा पलेँटी कसेर सेल्फी मार्नुपर्ने फेसन सामान्य भइसकेको छ ।
कागबेनीको दोभानमा पितृहरूलाई सम्झिएर श्राद्ध, पितृतर्पण दिइने परम्परा रहेको जानकारी पनि डा. साहबले दिनुभयो तर यस्तो पवित्र संयोग हामीलाई जुरेन, समय थिएन, दर्शन मात्र गरेर जोमसोममा रोकेर यहाँ फलेका रसेदार एप्पल र एप्पलबाट बनिएका सोमरस लिएर कालीगण्डकी, मार्फा, लेते हुँदै त्यो दिन पनि घासा नै पुगेर जो अघिल्लो दिन बास बसेका होटलमै हाम्रो खानापिना र वास भयो।
भोलिपल्ट बिहानको नास्ता खाएर त्यहाँबाट हामी काभ्रेभीर, रुप्से झर्ना, गलेश्वर मन्दिर, बाग्लुङ कालिका मन्दिर अनि अग्लो झोलुङ्गे पुल हुँदै पोखरा आएर बास बस्यौं। पोखराको बसाइमा पनि पोखराको सुन्दरताको दृश्यावलोकन गर्न चुकेनौँ ।
चौथो दिन सखारै आफ्नो नित्यकर्म पश्चात् विन्ध्यवासिनी मन्दिर र ताल बराही मन्दिर दर्शन ग-यौं। तिहारको मुख भएको हुँदा हामीलाई घर आउन हतार थियो। काठमाडौंबाट सँगै गरेको यात्रा मनले नचाहँदा नचाहँदै पनि समयको कमीले गर्दा हामीले पोखराबाट छुट्टिने निर्णय ग-यौं। हामी पोखराबाट हवाईमार्ग भएर काठमाडौं अनि भद्रपुरहुँदै उसै साँझ सिलगढी आइपुगेको खबर हामीले काठमाडौं गरेका थियौं भने डा. शैलेन्दुप्रकाश नेपाल सपरिवार अनि नानी पुष्कर काठमाडौं आफ्नो आफ्नो वासस्थान पुगेको खबर गर्नु भएको थियो अनि यसरी मिठा अनुभव र अनुभूति बटुलेर हाम्रो यात्रा सकिएको थियो।
गीताश्री शर्मा
गान्तोक, सिक्किम

Comments are closed.