नियामक संरचनाहरु र शासन प्रणालीकाबीच धेरै सुधार आवश्यक छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शासन प्रणाली र नियामक संरचनाहरुका बीचमा परिमार्जन गर्नुपर्ने विषयहरु धेरै रहेको बताएका छन्।
भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा बिहीबार सिंहदरबारमा उनले यस्तो बताएका हुन्। उनले शासन प्रणाली र नियामक संरचनाहरुका बीचमा आवश्यक विषय सुधार गरी अघि बढ्न जरुरी रहेको बताए।
उनले सरकारी निर्णय गर्ने विषयमा कर्मचारीतन्त्र र अख्तियार अनुसन्धानसँग सम्बन्धित विषयमा निकै जटिलता र पेचिलो महशुस हुने गरेको बताए। उनले राज्य संरचनाका विभिन्न निकायका बीचमा आपसी तादात्म्य, तालमेल, एक अर्काको सहयोगको पूरक हुनेगरी अघि बढ्ने वातावरण बनाउन आवश्यक रहेको बताए।

उनले भ्रष्टाचार निवारणको कुरा कानुनी वा प्राविधिक विषय मात्रै नभएको भन्दै सामाजिक, सांस्कृतिक चेतनासँग सम्बन्धित रहेको बताए।
उनले भने, ‘हाम्रो शासन प्रणाली र हाम्रा नियामक संरचनाहरुका बीचमा परिमार्जन गर्नुपर्ने, सुधार गर्नुपर्ने धेरै विषय छन्। यो हामी सबैले महशुस गरेका छौँ। मैले पनि कहीँ न कहीँ हाम्रो कर्मचारीतन्त्र, हाम्रो नियामक निकायहरु, अझ मुख्यतः अख्तियार अनुसन्धानसँग सम्बन्धित विषयमा निकै जटिलता र पेचिलो महशुस हुन्छ। मैले कार्यकारी प्रमुखको रुपमा काम गर्दैगर्दा हाम्रो अख्तियार प्रमुखज्युसँग मैले धेरै छलफल गरेको छु।’
अध्यक्ष दाहालले भ्रष्टाचारसँग सम्बन्धित हदम्यादको समय कति राख्ने वा राख्दै नराख्ने भन्ने कुरालाई गहन रुपमा छलफल गरेर टुंग्याउनुपर्ने बताए। उनले आयोगले मुद्दा दर्ता गर्नेबित्तिकै पदबाट निलम्वन हुने कुरा ठिक हो वा होइन भन्ने बारेमा पनि पर्याप्त छलफल हुनुपर्ने बताए।

Comments are closed.