भारतले नेपालसँग थप २५१ मेगावाट बिजुली किन्दै, प्रतियुनिट रू ८.७२

काठमाडाैँ । भारतले नेपालका १२ जलविद्युत आयोजनाबाट थप २५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतको केन्द्रिय विद्युत प्राधिकरणले अन्तरदेशीय व्यापार उद्देश्यले उक्त विद्युत किन्नका लागि स्वीकृति दिएको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतले नेपालबाट पहिलो पटक बिहारमा मध्यकालीन र हरियाणामा ५ वर्षका लागि विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात स्वीकृित दिएको बताए । उनले विगतमा भारतले ६९० मेगावाट (१६ वटा आयोजना) बाट लग्दै आएकोमा सोमवारबाट थप २५१ गरी कुल ९४१ मेगावाट विद्युत खरिद गर्ने भएको जानकारी दिए ।
कार्यकारी निर्देशक घिसिङले भारतमा विद्युत निर्यातको परिणाम बढेसँगै नेपालले आर्जन गर्ने रकम पनि बढ्ने बताए । उनले गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँ बराबर विद्युत भारतमा बिक्री गरेको जानकारी दिँदै चालु आर्थिक वर्षमा २५ देखि ३० अर्ब रुपैयाँको विद्युत निर्यात हुने अनुमान प्राधिकरणको रहेको बताए ।
उनले नेपाल खुद विद्युत निर्यातकर्ता भएकाले गत आर्थिक वर्षमा आयात भन्दा निर्यात बढी गरेको बताए । विद्युत प्राधिकरणले तीन दिनभित्रै सबै प्रक्रियाहरु मिलाएर आयोजनाहरुबाट विद्युत निर्यात शुरु गर्ने जानकारी दिएका छन् । उनले स्वीकृत भएको ९ सय ४१ मेगावाटमा थप १० प्रतिशत विद्युत थप गरेर पठाउँदा १ हजार मेगावाट माथि विद्युत भारत निर्यात गर्नसक्ने अवस्थामा प्राधिकरण पुगेको बताए ।
२ सय ५१ मेगावाटमध्ये १ सय २५ मेगावाट बिहारका लागि, १ सय २६ मेगावाट विद्युत हरियाणाका लागि निर्यात गरिने घिसिङकाे भनाइ छ । उनले बिहारसँग तीन वर्ष र हरियाणासँग पाँच वर्षको सम्झौता भएको बताए । दुवै ठाउँको लागि विद्युतको मूल्य प्रतियुनिट भारतीय ५ रुपये ४५ पैसा (नेपाली ८ रुपैयाँ ७२ पैसा) रहेको उनले बताए ।
भारतले पहिलो पटक सन् २०२१ अक्टोबरमा नेपालबाट ३९ मेगावाट विद्युत किन्नका लागि अनुमति दिएको थियो । पछिल्लो तीन वर्षमा भारतले लैजाने विद्युत परिणाम निरन्तर रुपमा वृद्धि गरिरहेको छ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौता आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत विक्री गर्ने रहेको छ ।

Comments are closed.