धीरकुमार श्रेष्ठको ‘आख्यानको आँखीझ्याल’ र ‘अध्ययन विश्लेषण’ पुस्तक लोकार्पण

काठमाडौँ, धीरकुमार श्रेष्ठको ‘आख्यानको आँखीझ्याल’ र ‘अध्ययन विश्लेषण’ सार्वजनिक गरिएको छ। राजधानीमा मंगलबार आयोजित कार्यक्रममा दुईवटा समालोचनात्मक कृति सार्वजनिक गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठले नेपाली साहित्यमा जति पनि समालोचना छन्, ती प्राध्यापकीय र परम्परागत रहेकाले अब त्यसबाट माथि उठ्नुपर्ने बताएका छन्। प्राडा रामप्रसाद ज्ञवालीले पठन संस्कृति संकुचित हुँदै गइरहेको आजको अवस्थामा समालोचना लेखन परम्परा पूर्वाग्रह र आग्रहमा केन्द्रित भएकाले अब गहिराइमा पुगेर वस्तुपरक, कृतिपरक र मूल्यपरक लेखिनुपर्नेमा जोड दिए। प्राडा देवी नेपालले सूत्रात्मक रूपमा लेखिएका स्रष्टा श्रेष्ठका दुवै कृतिले समालोचनाका नैतिक मूल्य र निष्ठा आत्मसात गरेको बताए।

प्राडा कुमारप्रसाद कोइरालाले दयाराम श्रेष्ठ र उनका समकालीन समालोचकहरूले स्थापित गरेको प्रभाव यी दुई कृतिमा पनि पाइएको बताए। प्रा. अनुपमा रेग्मीले भावनात्मक मूल्यलाई मान्यता दिइएका दुवै कृति प्रभावपरक मूल्यांकनका दृष्टिले सफल रहेको बताइन्। कार्यक्रममा देवु लुइटेल, रामदेव पाण्डे लगायतले बोलेका थिए। दुवै कृति ऐरावती प्रकाशनबाट छापिएका हुन्।

Leave A Reply

Your email address will not be published.