साहित्यका माध्यमबाट सडक सुरक्षा सम्बन्धी ट्राफिक जनचेतना प्रवर्धन कार्यक्रम सम्पन्न

मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित साहित्यका माध्यमबाट सडक सुरक्षा सम्बन्धी ट्राफिक जनचेतना प्रवर्धन कार्यक्रम काठमाडौँ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले शान्ति सु-व्यवस्था लगायत बढ्दै गएको सडक सुरक्षामा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

ट्राफिक प्रहरीले सडक सुरक्षालाई अझ प्रभावकारी बनाउनका लागि साहित्य समाज, विद्यार्थी, युवावर्ग लगायतका हरेक समुदायसँग जनचेतनामूलक अन्तरक्रिया कायक्रमलाई अझ प्रभावकारी रुपमा संचालन गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो । साथै उहाँले ट्राफिक प्रहरीले संचालन गर्ने हरेक कार्यक्रमलाई प्रवर्धन र सहयोग गर्न नेपाल प्रज्ञा प्रतिष्ठान सदैव तयार रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा अवसरमा मेट्रो ट्राफिक एफएम व्यवस्थापन समितिकी अध्यक्ष तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले समाजका हरेक वर्गसम्म सडक सुरक्षालाई जोड्न साहित्यले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । साथै उहाँले आफ्नो रचनामा ट्राफिक नियम सम्बन्धी सचेतना फैलाउने विषय राख्न साहित्यकारहरूलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा कविहरु डा. कृष्णहरि बराल, डा.रजनी ढकाल, डा. साधना प्रतीक्षा, धीरेन्द्र प्रेमर्षि र भीष्म उप्रेतीले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो । साथै उहाँहरूसँग साहित्यमा ट्राफिक चेतनाका कुरा, साहित्यमा सुरक्षाका कुरा, साहित्य, सडक, समाज र सुरक्षाका कुरा, साहित्यका आँखामा ट्राफिक प्रहरी लगायतका विषयमा अन्तरक्रिया समेत भएको थियो । कार्यक्रममा कवि उमेश अवस्थी आदर्शले कविहरूसँग अन्तरक्रिया गर्नु भएको थियो । अन्तरक्रियामा साहित्यकारहरूले आजसम्म लेखिएका साहित्यमा सुरक्षा, सडक दुर्घटनाका विषयमा निकै कम लेखिएको र अबका दिनमा यसबारे लेखिनुपर्ने बताएकाछन् । ट्राफिक जनचेतना जगाउँने उद्देश्यले गरिएको यो कार्यक्रम, साहित्यका माध्यमबाट गरिएको र यसले गर्दा समाजलाई सचेत राख्न सकिने आशा अपेक्षा राखेको कार्यक्रमकि सञ्चालिका रीश्मा थापाले उद्घोषणा भनेकी थिइन् ।

Comments are closed.